अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

घोडाघोडी । भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो ।
यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठूलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।
मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । त्यसपछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए ।
‘यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण छ । पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रूपमा थियो’, उनले भने, ‘बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ ।’
जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । पुरैना भनेको थारू भाषामा कमलको फूल हो । स्थानीय थारू समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो ।
यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू बासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खलबलिएको छ ।
यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरुपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउँछन् ।
उनी भन्छन्,’५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खलबलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।’

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया