संवैधानिक परिषद्काे बैठक रोक्न माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार एक वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै प्रचण्डले अहिले त्यस्तै मनसायले बोलाएको बैठक स्थगित गर्न माग गरेका छन् ।
‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ प्रचण्डले वक्तव्यमार्फत भनेका छन् ।
प्रधानमन्त्री ओलीले भोलिका लागि संवैधानिक परिषद्को बैठक आह्रवान गरेका छन् । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
तर उपसभामुख रिक्त छ । विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठकमा नजाने निर्णय गरिसकेका छन् । देउवाले त अझ वक्तव्य नै जारी गरेर अन्य सदस्यलाई पनि बैठकमा नजान आग्रह गरेका छन् ।
प्रचण्डले पनि यस्तो बेला बैठक राख्नुको अर्थ नहुने भन्दै स्थगित गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले उपस्थित सदस्यको बहुमतले संवैधानिक निकायमा नियुक्ति सिफारिसको निर्णय लिन सक्ने गरी अध्यादेश ल्याएर परिषद्को बैठक बाेलाएका हुन् । अहिले लाकेसेवा आयोगका सबै पदाधिकारी, अख्तियार दुरुपयोग आयोग, निर्वाचन आयोग र समावेशी आयोग लगायतमा पद रिक्त छ ।
रिक्त पदमा ओलीले नियुक्तिको सिफारिस गर्न बैठकमा उपस्थित सदस्यकाे बहुमतले निर्णय लिन सक्ने गरी अध्यादेश ल्याएको र बैठक बोलाएको विपक्षी पार्टीहरुको आरोप छ ।
प्रतिक्रिया