सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया। सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय र धार्मिक हिंसापछि आइतबार शान्ति फर्किएको छ । ड्रुज समुदायका लडाकु र बेडोइन समूहबीचको भीषण झडपमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको हो ।
शनिबार घोषणा गरिएको युद्धविराम कार्यान्वयनमा आएको देखिएको छ । यसअघि भएका प्रयासहरू असफल भएका थिए । दशकौँदेखिको द्वन्द्वले हिंसात्मक रुप लिँदै इस्लामी सत्ता, इजरायली सेना र अन्य आदिवासी समूहहरूलाई समेत तानेको थियो ।
आइतबार बिहान स्वैदा सहरको वरपर कुनै झडप नदेखिएको समाचारसंस्था एएफपीका संवाददाताहरूले जनाएका छन् । सहरका केही स्थानमा सरकारी सुरक्षाकर्मी खटिएका छन् भने एक राहत सामग्री बोकेको गाडी ड्रुज बहुल क्षेत्रमा प्रवेश गरेको छ ।
एक सातामै हजारौंको मृत्यु
मानव अधिकार निगरानी संस्थाका अनुसार शनिबार राति ९ बजेदेखि स्वैदा क्षेत्रमा ‘सावधानीपूर्ण शान्ति’ कायम रहेको छ । सम्भावित हिंसा रोक्न सरकार पक्षले स्वैदातर्फ जाने मुख्य सडकहरू बन्द गरेको छ ।
निगरानी संस्थाले दिएको पछिल्लो विवरणअनुसार हिंसामा हालसम्म ३३६ जना ड्रुज लडाकु, २९८ जना ड्रुज समुदायका सर्वसाधारण, ३४२ जना सुरक्षाकर्मी र २१ जना सुन्नी बेडोइनको मृत्यु भएको छ ।
स्थानीय बासिन्दा, ड्रुज समूह र अधिकारकर्मीले सुरक्षाकर्मीहरूलाई बेडोइनको पक्ष लिएर स्वैदा प्रवेश गर्दा मनपरी हत्या र अत्याचार गरेको आरोप लगाएका छन् ।
‘एक सातापछि शान्ति महसुस’
स्वैदाकी ३९ वर्षीया चिकित्सक हनादी ओबैदले भन्नुभयो,“सहरले एक सातापछि पहिलो पटक यस्तो शान्त वातावरण पाएको छ ।” गृह मन्त्रालयले स्वैदा सहर आदिवासी लडाकुहरूबाट खाली गराइएको र बस्तीभित्रका सबै झडप रोकिएको जनाएको छ ।
शनिबार साँझ ड्रुज लडाकुहरूले सहरको नियन्त्रण फिर्ता लिएको निगरानी संस्थाले बताएको छ । त्यही दिन कार्यवाहक राष्ट्रपति अहमद अल–शराअले नयाँ युद्धविरामको घोषणा गर्दै सिरियामा रहेका जातीय र धार्मिक अल्पसंख्यकको सुरक्षा गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
अर्का एक स्वास्थ्यकर्मीले भने,“सहर अहिले पूर्ण रूपमा शान्त छ, तर अहिलेसम्म कुनै स्वास्थ्य र राहत सामग्री भित्रिएको छैन ।”
अत्याचार र मानवीय सङ्कट
राजधानी दमास्कसबाट स्वास्थ्य सहायता तयारी हुँदै गरेको सरकारी समाचार संस्था सानाले जानकारी दिएको छ । तर, झडपग्रस्त सहरमा अहिले पनि विद्युत्, पानी र खाद्यान्न अभाव छ ।
झन्डै एक लाख ५० हजार जनसंख्या रहेको सहरका धेरै बासिन्दा घरभित्रै थुनिएका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार हिंसाका कारण स्वैदा प्रान्तमा एक लाख २८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
‘अब शान्ति र संवाद हुनुपर्छ’
अमेरिकी विशेष दूत टम बेरकले आइतबार सिरिया अहिले ‘निर्णायक मोड’ मा रहेको भन्दै सबै पक्षलाई हातहतियार त्याग्न, द्वन्द्व अन्त्य गर्न र आदिवासी प्रतिशोधको चक्रव्यूहबाट बाहिर निस्कन आग्रह गरे । उनले भने,“स्थानीय समूहहरूले गरिरहेका क्रूर कार्यहरूले सरकारले राखेको सत्ताको विश्वसनीयता नै संकटमा पारेका छन् ।”
इजरायलले केही दिनअघि स्वैदा र दमास्कसमा सरकारी सेना लक्षित आक्रमण गरेको थियो । इजरायली अधिकारीहरूले यो कदम ड्रुज समुदायको संरक्षण र दक्षिणी सिरियाको निशस्त्रीकरणका लागि लिएको बताएका छन् ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सिरियाली सुरक्षाबलहरूलाई जिहादी समूहलाई दक्षिण प्रवेश गर्न नदिन र हिंसा वा हत्या गर्ने जो कोहीलाई कानुनी कठघरामा ल्याउन आह्वान गरे।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया