आइतबार, चैत २९, २०८२

इरानको दक्षिणपूर्वी क्षेत्रमा आक्रमण, ८ जनाको मृत्यु

मेरोन्यूज २०८२ साउन १० गते १८:५३

इरानको दक्षिणपूर्वी सिस्तान–बलोचिस्तान प्रान्तको राजधानी जाहेदानमा शनिबार न्यायालय भवनमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच सर्वसाधारण र तीन आक्रमणकारी रहेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

इरानको सरकारी समाचार संस्थाहरूका अनुसार, आक्रमणकारीहरूले पाहुनाका रूपमा भेष बदली न्यायालय भवनभित्र पसेका थिए। उनीहरूले भवनभित्र हातहतियार चलाउनुका साथै विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए। आक्रमणमा एक वर्षको बालक र उनकी आमाको ज्यान गएको छ।

सैन्य तथा सुरक्षासम्बन्धी निकायहरूका अनुसार, उक्त आक्रमणमा १३ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेकाले मृत्यु संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

सैन्य संगठन इस्लामिक क्रान्तिकारी सुरक्षा बलका अनुसार, आक्रमणमा संलग्न तीन जना सशस्त्र व्यक्ति सुरक्षाकर्मीहरूसँगको भिडन्तमा मारिएका छन्।

यो घटनाको जिम्मेवारी पाकिस्तानमा आधारित र इरानमा पनि सक्रिय रहेको बलोच सशस्त्र समूह ुन्यायको सेनाु (जैश अल अदल) ले लिएको जनाइएको छ।

राजधानी तेहरानदेखि करिब एक हजार २०० किलोमिटर टाढा पर्छ, पाकिस्तान र अफगानिस्तानसँग सिमाना जोडिएको अति संवेदनशील क्षेत्र हो। उक्त क्षेत्रमा बलोच अल्पसंख्यक समुदाय, कट्टरपन्थी सुन्नी समूहहरू तथा लागूपदार्थ तस्करहरूका कारण सुरक्षाकर्मी र विद्रोही समूहहरूबीच बारम्बार झडप हुने गरेको छ।

गत असोज महिनामा पनि सोही क्षेत्रमा भएको एक आक्रमणमा १० जना प्रहरी मारिएका थिए, जुन घटनालाई पनि अधिकारीहरूले आतङ्कवादी हमला भनेका थिए।

प्रतिक्रिया