बुधबार, पुष ९, २०८२

पूर्वी कङ्गोस्थित चर्चमा आइएस समूहको आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

मेरोन्यूज २०८२ साउन ११ गते १७:५१

इस्लामिक स्टेट (आइएस) समर्थित विद्रोहीले पूर्वी कङ्गोको चर्च परिसरमा आइतबार गरेको आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको नागरिक समाजका एक अगु्वाले बताएका छन् ।

पूर्वी कङ्गोको कोमान्डास्थित क्याथोलिक चर्च परिसरमा ‘एलाइड डेमोक्रेटिक फोर्स (एडिएफ)’ का सदस्यले राति करिब १ बजे आक्रमण गरी आगजनीसमेत गरेका थिए । आगजनीका कारण कैयौँ घर र पसलहरु पनि जलेर नष्ट भएका छन् ।

“चर्च परिसरभित्र र बाहिर गरी २१ जनाभन्दा बढीलाई गोली हानी हत्या गरिएको छ । कम्तीमा तीन वटा जलेको शव र कैयौँ घर जलेको भेटिएको छ । खोजी कार्य जारी छ,” कोमान्डाका नागरिक समाजका संयोजक डियुडोन दुरान्थाबोले बताए।

यसै महिनाको सुरुमा उक्त समूहले इटुरीमा दर्जनौं व्यक्तिको हत्या गरेको थियो जसलाई संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले रक्तपातको संज्ञा दिएका थिए ।

इटुरी प्रान्तको कोमान्डा रहेको क्षेत्रमा कार्यरत कङ्गोली सेनाका प्रवक्ताले १० जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सेनाका प्रवक्ता लेफ्टिनेन्ट जुल्स नगोङ्गोले भन्नुभयो, “आज बिहान कोमान्डाबाट केही टाढा रहेको चर्चमा हतियारधारी व्यक्तिहरूले आक्रमण गरेका हामीलाई जानकारी प्राप्त भएको छ । आक्रमणमा कम्तीमा १० जनाको हत्या भएको पुष्टि भएको छ । केही पसलहरूमा आगो लगाइएको र आक्रमणकारीले सर्वसाधारणको हत्या गरेका छन् ।”

इस्लामिक स्टेटसँग सम्बन्ध भएको एडिएफ युगान्डा र कङ्गोबीचको सीमा क्षेत्रमा सक्रिय विद्रोही समूह हो।

डुरान्थाबोले भन्नुभयो, “यो अविश्वसनीय दुःखद् घटनाले हामीलाई वास्तवमै निराश भएका छौँ । सुरक्षा अधिकारीको व्यापक उपस्थित रहेको शहरमा यस्तो स्थिति हुनुलाई गम्भीरताका साथ लिइएको छ।”

आक्रमणपछि केही नागरिकहरू त्यस क्षेत्रबाट पलायन भई बुनियातिर जान थालेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई दुश्मन अझै पनि हाम्रो शहर नजिकै छ भनिएको छ । हामी जतिसक्दो चाँडो सैन्य हस्तक्षेपको माग गर्दछौं ।”

सन् १९९० को दशकको अन्त्यतिर युगान्डामा योवेरी मुसेभेनीसँगको कथित असन्तोषपछि एडिएफको गठन गरिएको थियो।

सन् २००२ मा युगान्डाली सेनाको सैन्य आक्रमणपछि यो समूहले आफ्नो गतिविधि छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सारेको थियो र त्यसपछि हजारौं सर्वसाधारणको हत्याका लागि जिम्मेवार रहँदै आएको छ।

सन् २०१९ मा एडिएफले इस्लामिक स्टेटप्रति वफादार रहेको बताएको थियो । एडिएफको नेतृत्वले पूर्वी अफ्रिकी देशमा इस्लामवादी सरकारको परिकल्पना गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सशस्त्र बल (एफएआरडिसी) ले लामो समयदेखि विद्रोही समूहविरुद्ध सङ्घर्ष गर्दै आएको छ र रुवान्डा समर्थित एम २३ सँग नयाँ शत्रुतापछि यो आक्रमणको जटिल जालोसँग जुधिरहेको छ।

प्रतिक्रिया