‘एआई’ भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : सभापति देउवा

पाटन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए ।
सभापति देउवाले भने, ‘आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’
उनले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गरे ।
‘कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । प्रविधिको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, एक क्लिकमै बैंकिङ सेवा, सरकारी जानकारी, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध गराउने व्यवस्था यिनै उदार र अग्रगामी नीतिको परिणाम हो भन्नेमा दुईमत छैन’, सभापति देउवाले भने ।
उनले कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको भन्दै पार्टीले सूचना प्रविधिमार्फत आर्थिक गतिविधि बढाउन प्रतिबद्ध रहेको बताए ।
पूर्वप्रधानमन्त्री देउवाले प्रविधिमा पहुँच पुर्याई युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धन गर्ने, जनतालाई केन्द्रमा राखेर उपलब्धि-केन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी क्रियाशील रहेको पनि जानकारी गराए ।
‘अब सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । विज्ञान तथा सूचना प्रविधि क्षेत्रका विविध समस्या सम्बन्धमा कांग्रेसले गहिरोसँग नियालिरहेको छ’, उनको भनाइ थियो ।
कृत्रिम बौद्धिकता (एआई) विज्ञ डा सुरेश पोखरेलले एआईको तीव्र विकास भइरहेको र अब यसको समुचित उपयोगबिना सहज विकास असम्भव भएको बताए ।
पार्टीको विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला भट्ट मिश्रले कृत्रिम बौद्धिकताको युगमा नेपालको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताइन् ।
उनले मानिसको दैनिक जीवनमा सहजता ल्याउन बहस र छलफलका माध्यमबाट आवश्यक नीति तय गर्दै समस्या र चुनौती सामना गर्न आवश्यक रहेको बताइन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
प्रतिक्रिया