मंगलबार, फागुन १९, २०८२

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५: नेपालका २० अन्डर २० युवा नायकहरूको सूची सार्वजनिक

मेरोन्यूज २०८२ साउन २७ गते १८:४१

काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकल प्रा.लि ले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूमध्येबाट गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो ११औँ संस्करण हो ।

कुल ७८६ आवेदकहरु मध्येबाट छनौटमा परेका २० जनालाई आगामी सेप्टेम्बर १ मा पुरस्कृत गरिने ग्लोकल प्रालीले जनाएको छ । साथै, सोही दिन गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम समेत घोषणा गरिनेछ ।

ग्लोकल टीन हिरो २०२५ को ११ औँ संस्करणमा १३ देखि १९ वर्षका किशोरकिशोरीहरूका लागि आवेदनहरू खुला गरिएको थियो । आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजमा उल्लेखनीय काम र सकारात्मक प्रभाव पारेका किशोरकिशोरीहरुलाई यसमा छनौट गरिएको छ ।

ग्लोकल २० अन्डर २० सूची विभिन्न क्षेत्रहरूका २० प्रारम्भिक परिवर्तनका वाहकहरूको लागि एक सामूहिक उपाधि हो । जसले समाजमा सकारात्मक छाप छोडेका छन् । यस वर्षका सम्मानित व्यक्तिहरूलाई उनीहरूको विभिन्न क्षेत्रहरूमा गरेका कामहरूको लागि मान्यता दिइएको छ । जसमा प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरणवाद, कला, र स्वास्थ्य सक्रियता समावेश छन् ।

ग्लोकल २० अन्डर २०, २०२५ का लागि छानिएका आवेदकहरू मध्ये बुटवलका आविश खनाल, बाजुराका ध्रुबेश धामी, बाग्लुङका गोकुल श्रेष्ठ, धनुषाका कृष यादव, स्याङ्जाकी मानुषी न्यौपाने, वीरगन्जका मोहम्मद अफताब शेख, कपिलवस्तुका निश्चल ढुंगाना, पर्साका निशान्त राज सर्राफ, सुनसरीका ओसिस निराला, जुम्लाका अक्सफोर्ड आचार्य, डोल्पाका फुर्वा छिरिङ गुरुङ, झापाकी पूजा मैनाली, बुटवलका रक्षित पौडेल रहेका छन् । त्यसैगरी, सर्लाहीबाट रेणुका सिंह, नवलपुरबाट ऋतु घर्ती, काठमाडौंबाट रुचि ओझा, रुपन्देहीबाट सफल पौडेल र सक्षम घिमिरे, चितवनबाट सजन अधिकारी, कपिलवस्तुबाट सक्षम रुपाखेती छनौटमा परेका छन् ।

यी २० प्रेरणादायक सहभागिहरु अब ग्लोकल टीन हिरो २०२५ को अर्को चरणमा प्रवेश गर्नेछन् । यस सम्मानित समूहबाट, शीर्ष ६ फाइनलिस्टहरूलाई अन्तिम चरणमा जानको लागि छनोट गरिनेछ । फाइनलिस्टहरूको दूरदृष्टि, अनुकरणीय आचरण र उनीहरूको कामको दिगो प्रकृतिलाई प्रतिष्ठित निर्णायकहरूको एक प्रभावशाली समितिले मूल्यांकन गर्ने आयोजकले जनाएको छ ।

निर्णायक समितिमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया; डब्लु.डब्लु.एफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ; गोलछा ग्रुपकी निर्देशक सीमा गोलछा; भोइथका अध्यक्ष सुरज वैद्य; र नेपालका लागि युरोपेली संघका कार्यवाहक थोमस मिलर रहेका छन् ।

प्रतिक्रिया