साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी । साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब ३ भाग जमिनमा धानखेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकोमा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म करिब ७५ प्र्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।
“साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत गर्यो” बालीविज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, “साउन सकिदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।” मधेशका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युवबेलबाट मोटरपम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।
“साउन दोस्रो सातासम्म एक कठ्ठा हिल्याउन ३ घण्टा बढी मोटरपम्प र पम्पसेट चलाउनु पथ्र्यो, त्यस यता अलिअलि पानी पर्न थालेपछि तानेको पानी चाँडै लाग्दा सहज हुँदैगयो” भङ्गाहा–५ सिद्धपुरका शनिश्चर बाँतर भन्छन्, “साउन अन्तिम साता सुरु भएसँगै माटो गालेर पानी पर्न थाल्यो, यसले रोपाइँलाई निकै मद्दत ग¥यो । आफ्नो बस्तीमा साउन सकिदासकिँदै रोपाइँ पनि सकियो, अहिले यहाँका स्थानीय किसान खुसी छन् ।”साउन मध्ययता दिनहुँजसो परेको पानीले यहाँका किसानलाई अब भने धान भित्रिने आस जागेको छ । मध्य साउनपछिको वर्षा धानखेतीलाई अमृत झैँं भएको किसान बताउँछन् । बाँतरकै छिमेकी रामनारायण झा भन्छन्, “दुःखले धान रोपियो, अब मङ्सिरमा केही धान भित्रिने आस जाग्यो ।”
जिल्लामा सुदूरउत्तर, पूर्वीभेग र मध्यसम्म रोपाइँ राम्रो भए पनि दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानी अपुग छ । जिल्लाका १५ स्थानीयतहमध्ये मनराशीशवा, सम्सी, एकडारा र सोनमासहितका ५÷६ पालिकामा पानी अपूग हुँदा रोपाइँपछि परेको किसानको भनाइ छ । “हामीकहाँ पानी पुगेन, भूमिगत जलस्रोत पनि भरपर्दो हुनसकेन, त्यसैले रोपाइँपछि प¥यो” मनराशीशवा नगरपालिकाको साँढा बस्तीका चन्द्रभूषण मौव्वार भन्छन्, “अब त रोप्ने बेला पनि घर्कियो, सरकारले किसानलाई समयमै अरु बाली लगाउन भरथेग गर्नुपर्छ ।”
जिल्लाका केही भेगमा रोपाइँपछि परेपनि अधिकांश भेगमा भने किसानले मरिहत्ते गरेर धान रोपेका छन् । “साउन तेस्रो साताको प्रारम्भसँगै अलिअलि पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी महतो भन्छन्, “साउन चौथोसाता लागेपछि त ठाउँठाउँमा परेकै पानीले रोपाइँ हुन थाल्यो, कतिपय ठाउँमा भूमिगत जलस्रोतको पानीलाई वर्षाले साथ दियो ।” साउन अन्तिम साताको वर्षाले यसअघि रोपिएको धान जगाउन र रोपाइँ बढाउन निकै राहत मिलेको महतो बताउछन् । जिल्लामा अहिलेसम्म करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ भएको छ । यो धानखेती गरिने कूल ४५ हजार हेक्टरको ७५ प्रतिशतको हाराहारी हो ।
साउन मध्ययता इनार, स्यालोट्युवबेल र डिपबोरिङबाट तानिएको पानीले वर्षाको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानको भनाइ छ । “कसैगरी धान रोपियो, मोटरपम्प र पम्पसेटबाट तानिएको पानीमा वर्षाको साथ मिल्यो” बर्दिबास–७ प्रेमनगरका किसान रामऔतार महतो भन्छन्, “हामीकहाँ अब लगभग धान रोपाइँ सकियो ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धजा फाटेको खेतको रोपो हरियो भएर लहलहाएपछि अबचाहीँ घरमा धान भित्रिने आस जागेको महतोको भनाइ छ ।
साउन सकिँदा पनि किसान अझै रोपाइँमा धसिएका छन् । अब बढीमा २÷३ दिन अझै रोपाइँ चल्ने कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका कृषिविज्ञको भनाइ छ । किसानको तयारी अवस्थालाई हेर्दा रोपाइँ ८० प्रतिशत पुग्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी महतो बताउछन् । यद्यपि अब यसपाली खरुअन (कलम) नहुर्कदा मूल बीउको रोपो १÷२ दिनभन्दा बढी लम्ब्याउन नहुने किसानलाई बालीविज्ञको सुझाव छ । यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोपो किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा किसानले पटकपटक ब्याड राख्नुपरेको थियो । पछि बीउकै अभावले कतिपय किसानले पानी अनुकूल हुँदा पनि रोपाइँ बढाउन सकेनन् ।
यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वभाविक रुपमा कीरा र रोगको प्रकोप सुरु हुनसक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषि विज्ञले किसानलाई सुझाएका छन् । यसैगरी साउन मध्यअघिको रोपोमा झार व्यवस्थापनमा तत्काल ध्यान दिन किसानलाई कृषि विज्ञसमेत रहनुभएका सूचना अधिकारी महतोको सुझाव छ ।
महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदा पछि परेको छ । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन (कलम, धानको बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् । तीनै तहका सरकारसँग समयमै धानखेतीका लागि आवश्यक पानी, मल, बीउसहितको वातावरण सुनिश्चित गरिदिन किसानले माग गरेका छन् ।









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया