श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

कोलम्बो। पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ ।
विक्रमासिङ्घे पक्राउ पर्ने पहिलो श्रीलङ्काली पूर्वराष्ट्रप्रमुख हुन् । उनी भ्रष्टाचारविरुद्धको अभियानमा सत्तारूढ राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वमा सुरु गरिएको छानबिनमा रहेका धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरूमध्ये सबैभन्दा चर्चित छन् ।
विपक्षी दलका वरिष्ठ नेता एवं विक्रमासिङ्घेका सहयोगी दनुष्का रामानायकका अनुसार उनलाई कोलम्बोको मजिस्ट्रेट अदालतले जमानत दिएको हो । तर निर्णयको थप विवरण सार्वजनिक गरिएको छैन ।
शुक्रबार पक्राउ परेका पूर्वराष्ट्रपति अहिले कोलम्बो राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा छन् र अदालतको सुनुवाइमा टाढैबाट सहभागी भएका थिए ।
उनलाई डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल निर्देशक डा प्रदीप विजेसिङ्घेले सोमबार मिडियालाई उनी अहिले केही स्थिर अवस्थामा रहेको बताएका थिए ।
विक्रमासिङ्घेमाथि सन् २०२३ मा क्युबा र अमेरिकाको औपचारिक भ्रमणपछि लन्डनमा आफ्नी श्रीमतीको स्नातक समारोहमा भाग लिन सार्वजनिक कोष प्रयोग गरेको आरोप छ । तर उनको पार्टीले यसलाई आधिकारिक हैसियतमा प्राप्त निमन्त्रणाअनुसार भएको भन्दै बचाउ गरेको छ ।
जमानत सुनुवाइका क्रममा उनका हजारौँ समर्थक सडकमा उत्रिएर गिरफ्तारीलाई ‘राजनीतिक विच हन्ट (आफ्ना राजनीतिक विरोधीहरूलाई खोजी खोजी प्रतिशोध लिने)’ भन्दै विरोध जनाएका थिए । उनीहरूले कालो झण्डा फहराए, नारा लगाए र तत्काल रिहाइको माग गरे ।
उन्सत्तरी वर्षीय समर्थक समरासिरी कुरुविताराच्चीले सरकार जनतासँग गरेको वाचा पूरा गर्न असफल भएको र अहिले ‘राजनीतिक विरोधीहरूलाई दबाउन खोजिरहेको’ आरोप लगाए। “देशका लागि धेरै योगदान पुर्याएका विक्रमासिङ्घेको गिरफ्तारीको हामी कडा निन्दा गर्छौं । हामी उहाँलाई न्याय दिलाउन भेला भएका हौँ”, उनले भने ।
सुनुवाइ सकिएपछि समर्थकहरूले सडकमा उल्लासपूर्वक नाचगानसमेत गरेका थिए । विपक्षी सांसद तथा नेताहरूले यो कदमले श्रीलङ्काको लोकतन्त्रलाई कमजोर बनाएको टिप्पणी गरेका थिए ।
तर यातायातमन्त्री विमल रत्नायकेले भने आरोप अस्वीकार गर्दै विक्रमासिङ्घेको गिरफ्तारी कानूनअनुसार भएको बताए । उनले सोमबार स्थानीय सञ्चारमाध्यमसँग भने, “सरकारलाई अघिल्लो सरकारको दुराचारको छानबिन गर्ने जनादेश छ र कानून सबैमा समान रूपमा लागू हुन्छ ।”
सन् २०२२ मा आर्थिक सङ्कटले राजनीतिक अस्थिरता निम्त्याएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई राजीनामा दिन बाध्य पारेर विक्रमासिङ्घे सत्तामा आएका थिए ।
उनको नेतृत्वमा मुद्रास्फीति घटेको, स्थानीय मुद्रा बलियो बनेको र विदेशी भण्डार बढेको बताइन्छ । तर मितव्ययिताका कठोर नीतिहरूका कारण उनको सरकार आलोचनाको चपेटामा परेको थियो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया