बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्री ओलीले दिए नेता चौलागाईंप्रति श्रद्धाञ्जलि

मेरोन्यूज २०७८ वैशाख २९ गते ११:४९

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधनप्रति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट उनको मंगलबार साँझ मृत्यु भएको हो ।

‘उहाँको निधनबाट शोकमा पर्नु भएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्दछु, भद्र, शालीन, मिलनसार छवि बनाउनु भएका कमरेड पशुपपति चौलागाईंले नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष, प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्यका रुपमा समेत जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नु भएको
थियो,’ प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यसअघि चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रतिक्रिया