चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य आकासियो

महोत्तरी । एकपछि अर्को चाडवाड नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिँदै गएको छ । साउनको नागपञ्चमीयता बजारमा हरिया सागसब्जीको मूल्य आकासिएको उपभोक्ताले बताएका छन् ।
साउन मध्यसम्म रु ३५ प्रतिकिलो पाइएको पुरानो स्थानीय आलु ५० पुगेको छ । पहाडबाट झारिएको आलु त ७० प्रतिकिलो पुगेको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्य बताउँछन् । यसैगरी भन्टा प्रतिकिलो ८० सम्म पुगेको छ ।
नागपञ्चमीयता राखी, कृष्णअष्टमी, तीज, चौरचन र भदैया रैब पर्व मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा मनाइएको छ । अब पितृपक्ष, जितिया र दशहरा (दसैँ) मुखमै छन् । चाडबाडमा स्वाभाविक रूपमा सागसब्जी तरकारीको खपत बढ्ने हुँदा उपभोक्ता महँगीको मारमा परेका बर्दिबास–२ कै बासिन्दा अटोचालक भोला महतो बताउँछन् ।
अधिक वर्षा तरकारीखेतीका लागि उपयुक्त हुँदैन । तर यसपालि असारयता पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने आकासिँदै गएको हो । असारसम्म बढीमा रु ४० प्रतिकिलो पाइने गरेको परवल अहिले १०० को हाराहारी पुगेको छ । यसैगरी, गोलभेँडा ९०, पहाडबाट झारिएको काउली त रु २०० प्रतिकिलो पुगेको आइतबार भदैयारैब पर्वका लागि तरकारी किन्न बजार जानुभएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारूले बताए ।
यसैगरी, हरियो फर्सी ६०, अरुवा (पिँडालु) ७०, करेला ९०, घिरौँला, झिमनी र भिन्डी (रामझिमनी) ५० र ओल १५० प्रतिकिलो पुगेको छ । चाडवाड बाक्लिदै गर्दा हरियो सागसब्जी र विभिन्न तरकारीको मूल्य चर्किएको उपभोक्ताको आम गुनासो छ ।
यसपालि लामो खडेरीले यहाँ स्थानीय तरकारीको उत्पादन घट्दा अहिले बजारमा तरकारीको धेरैजसो माग पहाडबाट झारिएको तरकारीले लिएको छ । यी तरकारी किसानको हातमा नभई व्यापारीको तजबिजमा हुँदा मूल्य आकासिएको आम उपभोक्ता लख काट्छन् । अहिले पहाडबाट झरेको तरकारी यहाँका बजार मात्र नभई सीमापारिका भारतीय बजारसम्म पुग्ने गरेको छ । यसले पनि यहाँ तरकारीको मूल्य निकै बढाएको व्यापारी स्वीकार गर्छन् ।
“लगालगी चाडबाड परेका छन्, माग बढ्दो छ, यसले गर्दा तरकारीको मूल्य अझै केही बढ्नसक्छ,” बर्दिबास–१ का तरकारी व्यापारी दिलीप कुशवाहा भन्छन्, “हामीकहाँ आइपुग्दासम्म यो तरकारी तीन ठाउँ बेचिन्छ, सबैले केही न केही नाफा राखेरै बेच्नुपर्दा मूल्य अलि बढेको हो ।” यहाँ उत्पादन घटेको, भारतबाट तरकारी आउन छाडेको र पहाडबाट झारिने तरकारीको ढुवानी भाडा बढ्दा बजारमा मूल्यमा प्रभाव परेको व्यापारीको भनाइ छ । यो क्रम यहाँ हिउँदे तरकारी ननिस्किउञ्जेल रहनसक्ने सीतापुर बजारका अर्का व्यापारी रामप्रताप साह बताए ।
यता यहाँका किसान भने गत हिउँदमा आफ्नो उत्पादन कौडीको मूल्यमा बेच्नु परेको सम्झँदै अहिले किनेर खानपर्दा परेको मूल्यले विरक्तिएका छन् । अहिलेको तरकारी बजार किसानको नभई व्यापारीको कब्जामा रहेको किसान बताउँछन् । “प्रतिकूल मौसमले यसपालि हाम्रो तरकारीखेती फस्टाएन, कुनै बजारमा तरकारी बेच्न बसेका किसान हम्मेसी देखिन्नन्,” तरकारी खेतीका अब्बल किसान मानिने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो भन्छन्, “अहिले त आफ्नो भान्सा पनि बजार गइने झोलाले धान्नु परेको छ ।”
साउनयता भारतबाट यता आउने तरकारी पूरै रोकिएको छ । बरु सीमावर्ती भारतीय बजारमा पनि काभ्रेको मङ्गलटार, भकुण्डेबसी, मकवानपुरको टिस्टुङ्पालुङ, रामेछाप, सिन्धुली र पूर्व धनकुटादेखि आउने तरकारी पुगिरहेको हुँदा यहाँका बजारमा मागअनुसार अपुग हुँदा मूल्य बढेको जलेश्वर भन्सार नाका मलिबारास्थित प्लान्ट क्वारेन्टिइन कार्यालयका प्रमुख किशोर यादवको आकलन छ ।
“हेर्नोस् न, हाम्रै नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब २० थरीका तरकारी दुई हजार ६८३ मेट्रिक टन भित्रिएको थियो, यसपालि नयाँ आर्थिक वर्ष (२०८२/८३) सुरु भएयता यो क्रम लगभग ठप्प छ,” यादव भन्छन्, “यसको प्रभाव त हाम्रो बजारमा परिहाल्छ ।” अहिले त भारतको तरकारी यता आउनुसट्टा हाम्रै पहाडका तरकारी उताको बजारमा पुग्दा यहाँ मागअनुसार तरकारी नहुँदा मूल्य बढेको प्लान्ट क्वारेन्टिइन कार्यालयका अधिकारीको ठम्याइ छ ।
अहिले तरकारीको मूल्यवृद्धिले होटल सञ्चालक पनि सकसमा परेका छन् । आम उपभोक्ताको क्रयशक्ति घटेका बेला खानामा मूल्यवृद्धि गर्दा व्यवसाय नै धराशयी हुने अवस्था बनेको उपभोक्ता हक संरक्षण मञ्चका अध्यक्षसमेत रहनुभएका बर्दिबास–३ स्थित होटल शिशमहलका सञ्चालक दीपेन्द्र पराजुली बताउँछन् ।
महोत्तरीका मटिहानी, भङ्गाहा, बलवा, गौशाला, लोहारपट्टि र बर्दिबाससहितका स्थानीय तहका बस्तीहरू तरकारीखेतीका पकेटक्षेत्र मानिन्छन् । यस जिल्लामा २२ हजार ६८० हेक्टर क्षेत्रफलमा विभिन्न थरीका तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका कृषिविज्ञसमेत रहेका सूचना अधिकारी अविरलकुमार महतोले जानकारी दिए । अहिले यताको प्रतिकूल मौसमले बर्खे तरकारी राम्रो उत्पादन हुन नसकेको र अब हिउँदे तरकारी लगाउने बेला परेको हुँदा तयार तरकारी कम भएको महतोको भनाइ छ ।
यता आम उपभोक्ता भने चाडबाडको मुखमा बढ्दै गएको मूल्यले आहत भएका छन् । महँगीकै कारण चाडबाडमा मन फुकाएर सागसब्जी खान नपाइने उपभोक्ताको चिन्ता छ । चाडबाडका बेला तरकारी मात्र नभएर अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने र भीडभाडको बेला पारेर कमसल सामग्री उपभोक्तालाई दिने गरेका यहाँको विगत छ । यसलाई दृष्टिगत गरी स्थानीय प्रशासन, स्थानीय तह र सम्बद्ध निकायले चाडबाडका बेला सघन अनुगमन गरी दिनुपर्ने आम उपभोक्ता बताउँछन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया