बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण भएको छ । बेनी नगरपालिका र समुदायको पहलमा बेनीलाई मौलिक सांस्कृतिक बजारको रूपमा विकास गर्न पुराना सम्पदाको संरक्षण, पुनर्निर्माणका साथै नयाँ सार्वजनिक संरचना निर्माणका क्रममा मौलिकतालाई जोड दिइएको हो ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्छ । नगर प्रमुख सुरत केसीले मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउने र बसाइ लम्बाएर स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र मौलिकताको सम्वर्द्धन तथा प्रवर्द्धनमा जुटेको बताए ।
उनका अनुसार कालीगण्डकीको सभ्यता बचाउन र प्रदूषण नियन्त्रणका लागि दोभानमा शवदाहस्थल निर्माण भएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा विनियोजन भएको ६० लाख रुपैयाँ बजेटबाट शवदाहस्थललाई व्यवस्थित र सुरक्षित बनाउन भौतिक संरचना निर्माण भएको हो ।
धार्मिकस्थल गलेश्वर बजारभित्रको सडकको सौन्दर्यकरण गर्नका लागि गत वर्षदेखि सुरु भएको सडकमा स्लेट ढुङ्गा बिछ्याउने योजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । गत आवमा १०६ मिटर स्लेट बिछ्याइएको थियो ।
नयाँ आवका लागि नगरपालिकाले ३० लाख विनियोजन गरेको योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि साथ दिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।
बेनीको पुस्तकालय चोकमा १३ लाख खर्चेर जमघट र विश्रामस्थलका लागि भक्तपुरे इँटा र बुट्टा कुदेको काठ प्रयोग गरेर नेवारी वास्तुकला शैलीको प्रतीक्षालय (फल्चा) निर्माण भएको छ । यस वर्ष आँखीझ्याललगायतका संरचना बनाएर फल्चा निर्माणलाई पूर्णताः दिने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए ।
चोकमा खाली रहेको सार्वजनिक ठाउँको सदुपयोग गरेर निर्माण भएको फल्चाबाट स्थानीयवासी, यात्रुहरूलाई विश्रामका लागि सहजका लागि बजारको आकर्षण थपेको छ । यसअघि बेनी नगरपालिकाको वडा नम्बर ७ मा रहेका पुराना चौतारीहरूको मर्मत र व्यवस्थापन भएको थियो ।
बेनी नगरपालिका–८ गणेशटोलमा रहेको २०० वर्ष पुरानो गणेश मन्दिर यसै वर्ष पुनर्निर्माण भएको छ । बेनी नगरपालिकाको ६ लाख बजेट र गुठियारहरूको करिब १४ लाख लगानीमा मौलिक शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष उत्तम कर्माचार्यले बताए । पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छानामा पित्तलको जलप लगाइएको छ ।
यसअघि बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर पुनर्निर्माण गरिएको थियो । छानोमा तीन वटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् ।
विक्रम संवत् १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।
ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ ।
















बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया