सुनसरीमा बाढीले सयौँ घर डुबानमा

धरान (सुनसरी)। लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पसेको बताए।
डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको पनि उनले जानकारी दिए । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ मा १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घरभित्र बाढी पसेको जनाइएको छ ।
त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका छन् । प्रवक्ता खतिवडाले भने, “धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी डुबान भएको छैन । सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छौँ ।” बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पतालसमेत प्रभावित भएका छन् ।
अस्पताल परिसर डुबानमा परेपछि सशस्त्र प्रहरी बलको सहयोगमा डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पु¥याइएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उहाँको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् । बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र थप क्षति हुन नदिन सतर्कता अपनाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
यसैबीच धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा गएराति गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।








रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
बालबालिकामा कुपोषण दर उच्च
पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया