शनिबार, वैशाख १२, २०८३

विद्युतीय सामग्रीको व्यापार घट्यो

मेरोन्यूज २०८२ असोज ३१ गते १२:४७

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउँछन् । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ ।

Advertisement
NiccNicc

लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”

पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।

विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताए ।

नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताए । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उनले भने।

प्रतिक्रिया