राष्ट्रपति पौडेल १७ गते कतार भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे।
सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सचिव राईले भने, “सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।”
संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ ।
कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

















सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
‘मौन अवधि’ के हो ? उल्लंघन भए के कारबाही हुन्छ ?
यूएईमा सेक्युरिटी गार्डमा कार्यरत थिए इरानको आक्रमणबाट ज्यान गुमाएका श्रेष्ठ
आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया