शुक्रबार, मंसिर ५, २०८२

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

मेरोन्यूज २०८२ मंसिर ५ गते १४:२४

काठमाडाैं । बङ्गलादेशमा भूकम्प गएकाे छ ।

शुक्रबार गएकाे ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको छ । साथै दर्जनौँ घाइते भएका छन् ।

भूकम्प स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । युएस जियोलोजिकल सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको थियो ।

ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको निधन भएको तथा अर्को तीन जना पैदलयात्री भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर मृत्यु भएको बताइएको छ ।

युएसजिएसका भूकम्प विज्ञहरूका अनुसार भारत र युरेशिया प्लेटहरूको सतत् अन्तरक्रियाका कारण बङ्गलादेशको उत्तरी तथा दक्षिणपूर्वी भाग भूकम्पीय रूपमा सक्रिय क्षेत्र मानिन्छ । तर देशको मध्य भाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्छ, जसकारण यस पटक आएको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको बताइन्छ ।

बङ्गलादेशी अधिकारीहरूका अनुसार उद्धार तथा क्षति मूल्याङ्कनका कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ ।

प्रतिक्रिया