सोमबार, मंसिर १५, २०८२

काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात

मेरोन्यूज २०८२ मंसिर १५ गते १२:११

बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने आठ अर्बको भएको छ । 

चालु आर्थिक वर्ष ०८२–८३ को साउनदेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख रुपैयाँबराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । 

गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा आठ अर्ब ९६ करोड सात लाखबराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा आठ अर्ब ३० करोड २७ लाख ८७ हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो । 

चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व संकलन गरेको छ । आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात् ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ । 

काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।

अलैँची भने दोब्बरभन्दा बढीले वृद्धि भई ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् दुई अर्ब ७ करोड ४१ लाख ३२ लाखले बढी हो । चिया निर्यातमा भने झन्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।

प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा एक अर्ब २५ करोड ७२ लाख ५९ हजारबराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजारले कमी हो ।

यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकामा चालु आवमा ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजारले बढी हो ।

कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामा रु ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

अम्रिसो निर्यातमा २३।९ प्रतिशतले गिरावट आएको छ । रु २६ करोड २५ लाख ६३ हजार बराबरको अम्रिसो निर्यात भएको छ । अदुवारसुठो निर्यात ३।२ प्रतिशतले वृद्धि भएको छ । रु २४ करोड २४ लाख १६ हजार बराबरको अदुवारसुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६।१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा रु ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । रु ९ करोड १२ लाख ८७ हजार बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १ करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।

चालु आवमा रु ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया