कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापान सरकारसँग ऋण सम्झौता

काठमाडौँ । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।
ती संरचना निर्माणको उद्देश्य काठमाडौँ, ललितपुर, भक्तपुर तथा विपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने राखिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।
ऋण सहायतासँग सम्बन्धित अवधारणापत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।
हस्ताक्षर समारोहमा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।
अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौँ उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।









कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापान सरकारसँग ऋण सम्झौता
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारकाे नियन्त्रणमा
अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल
भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया