एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् ।

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिमले दश अंक जोडेर शीर्ष स्थानमा छ ।
अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ । अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको काठमान्डू गोर्खाज र तेस्रो स्थानमा पाँच खेलबाट आठ अंक नै जोडेको विराटनगर रहेको छ । यी दुवै टोली प्लेअफ नजिक छन् ।
चौथो स्थानमा चितवन राइनोज रहेको छ । चार खेलबाट चार अङ्क जोडेको चितवन पनि प्लेअफको दौडमा छ । पाँच खेलबाट चार अङ्क जोडेको लुम्बिनी लायन्स पाचौँ, पाँच खेलबाट एक खेल मात्रै जितेको कर्णाली याक्स छैटौँ, चार खेलमा दुई अङ्क मात्रै रहेको पोखरा एभेन्जर्स सातौँ र चार खेलमा अङ्कविहीन रहेको जनकपुर बोल्टस पुछारमा छ ।
पाँच खेलमा नायक बने पाँच फरक खेलाडी
सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।

उत्कृष्ट खेल्दै टोलीलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र इशान पाण्डेय रहेका छन् । विदेशी खेलाडीमा हर्मित सिंह र जोस ब्राउन छन् । सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गरे । काठमाडौँलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारि खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाए । साथै उनले बलिङमा पनि महत्वपूर्ण दुई विकेट लिए ।
दोस्रो खेलका नायक बनेका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारि खेले । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनले जितेको थियो । तेस्रो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किए । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ रन बटुले भने बलिङतर्फ चार विकेट लिए । चौथो जितमा पारम्भिक ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बने । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोडे ।
साबिक विजेता जनकपुरलाई हराएर पाचौँ जित निकालेको खेलमा इशान पाण्डेले उत्कृष्ट खेले । उनले ५६ रन बनाए । सुदूरपश्चिमले सबैभन्दा बढी नौ स्थानीय खेलाडीलाई टोलीमा राखेको छ । जसमा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा र हिक्मत महरा रहेका छन् ।
अर्धशतकमा बनाउने सुदूरपश्चिमकै खेलाडी बढी

प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकामा सुदूरपश्चिमकै खेलाडी अग्रस्थानमा छन् । सुदूरपश्चिमका चार खेलाडीले अर्धशतक बनाए । अर्धशतक बनाउनेमा विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हरमित सिंह रहेका छन् ।
यस्तै हालसम्म एनपिएलमा अर्धशतक बनाउने अन्य खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेल, पोख।ाकै सुमित बर्मा, एडम रोसिङटन र जिम्मी निशम, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेख, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल तथा चितवन राइनोजका रवि बोपरा रहेका छन् । बोपराले तीन तथा भुर्तेल र पञ्चालले दुई/दुई अर्धशतक बनाएका छन् । कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक बनाउने एक्ला खेलाडी हुन् ।
बलिङतर्फ सुदूरपश्चिमका खेलाडी हाबी देखिएका छन् । हालसम्म सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेट लिँदै पहिलो स्थानमा छन् । दोस्रो स्थानमा विराटनगरका कप्तान सन्दीप लामिछाने छन् । उनले १० विकेट लिएका छन् । यस्तै समान १०÷१० विकेट लिएका काठमाडौँका मिलिन्द कुमार र कप्तान करण केसी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नौ विकेट लिएका सुदूरपश्चिमका हर्मित सिंह पाचौँ स्थानमा छन् ।
सबैभन्दा बढी रन बनाउनेमा चितवनका रवि बोपरा रहेका छन् । उनले हालसम्म २०४ रन बनाएका छन् । यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल तथा समान १६५ रन बनाएका कर्णालीका प्रियाङ्क र सुदूरपश्चिमका विनोद भण्डारी क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
विराटनगर कीर्तिमानी स्कोर बनाउने टोली
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली सुदूरपश्चिम हो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो ।
जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन हो । चितवनको पारी काठमान्डू गोर्खाजसँग ८९ रनमा समेटिएको थियो । यसअघि उक्त रेकर्ड कर्णालीका नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णालीको पारी ९४ रनमा समेटिएको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेता टोलीले रु एक करोड १० लाख पुरस्कार पाउनेछ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया