बुधबार, मंसिर १७, २०८२

एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा

विनोदसिंह विष्ट/रासस २०८२ मंसिर १७ गते १७:२३

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याटिङतर्फ विदेशी र बलिङतर्फ नेपाली खेलाडीको दबदबा देखिएको छ।

एनपीएलको पहिलो र दोस्रो संस्करणमा अहिलेसम्म तीन वटा शतक प्रहार भएका छन्। एनपीएलको पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो भने यस पटक दुई वटा शतक लागिसकेका छन्।

अहिलेसम्म शतक प्रहार गर्ने तीनै खेलाडी विदेशी छन्। नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन्।

जारी संस्करणको २१औँ खेलमा मंगलबार पोखरा एभेन्जर्सका एडम रोसिङटनले शतक प्रहार गरे। कर्णाली याक्सविरुद्धको खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन्। उनी एक सय आठ रनमा अविजित रहे।

कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दि म्याचसमेत घोषित भए। एडम इङ्ल्यान्डका खेलाडी हुन्।

यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन्। उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए। उनी एक सय १४ रनमा अविजित रहे। यो खेल कर्णालीले नौ विकेटले जितेको थियो। वाट प्लेयर अफ दि म्याचसमेत भए। एनपीएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन्।

एनपीएलको पहिलो संस्करणमा एक मात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ। पोखरामा आबद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलमा शतक पूरा गरेका थिए। उनी एक सय चार रनमा अविजित रहेका थिए।

२२ खेलाडीले बनाए अर्धशतक

एनपीएलको दोस्रो संस्करणमा अहिलेसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन्। यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन्। नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन्।

अर्धशतक हिर्काउने विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन र कर्णाली याक्सका प्रियांक पञ्चालले दुई अर्धशतक प्रहार गरेका छन्। त्यस्तै, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह, पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले एक–एक अर्धशतक बनाएका छन्।

अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल अगाडि छन्। उनले दुई अर्धशतक प्रहार गरेका छन्।
त्यस्तै, सुदूरपश्चिमका विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, जनकपुरका अनिल साह र आशिफ शेखले एक–एक अर्धशतक हानेका छन्।

सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन्। एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा पोखराका एडम रोसिङटन पहिलो नम्बरमा छन्। उनले हालसम्म पाँच खेलमा दुई सय ५३ रन बनाएका छन्।

दोस्रो नम्बरमा ६ खेलमा दुई सय ४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा दुई सय सात रनसहित चितवनका रवी बोपरा, ६ खेलमा एक सय ८१ रन जोडेका कर्णालीका प्रियांक पञ्चाल चौथोमा र पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेलले एक सय ७४ रन बनाएका छन्।

बलिङमा नेपाली खेलाडीकै अग्रता

सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन्। सुदूरपश्चिमका अभिनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन्।

विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा काठमाडौँका मिलिन्द कुमार र चौथोमा करण केसी रहेका छन्। मिलिन्द र करणले ६ खेलमा दश–दश विकेट छन्। यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिमका हर्मित सिंह रहेका छन्।

विराटनगर र पोखराको उच्च स्कोर

एनपीएलमा उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ। विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो। यो हालसम्मकै उच्च स्कोर हो।

दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा रहेको छ। पोखराले कर्णालीकाविरुद्ध दुई सय एक रन जोडेको थियो।

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन छ। चितवनले काठमाडौँ गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो।

एनपीएलको दोस्रो संकरणमा अहिलेसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुगेको छ। कर्णाली प्लेअफको दौडबाट बाहिरिएको छ। अन्य टोलीको छिनोफानो हुन बाँकी छ।

प्रतिक्रिया