शनिबार, मंसिर २७, २०८२

एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने

मेरोन्यूज २०८२ मंसिर २६ गते २०:४०

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।

सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वाेच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन् । बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ ।

उक्त नामावली मङ्सिर २७ गते सार्वजनिक हुनेछ । बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ ।

सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया