शनिबार, माघ १०, २०८२

राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा

मेरोन्यूज २०८२ माघ ९ गते १७:५९

काठमाडाैं । राष्ट्रियसभा सदस्यको ११ माघमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको बताए ।

उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी दिए । निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान ११ माघमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।

आयोगले १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भईसकेका छन् । १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ । केही प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट तिनको नाम हटाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया