शुक्रबार, माघ २३, २०८२

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह

मेरोन्यूज २०८२ माघ २२ गते १८:५९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलका अनुसार आयोगले आज निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा गरेको छलफलमा सहभागीहरूले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरूले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल/नेतालाई भोट दिने ? भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लंघन गरको पाइएको छ ।

आयोगमा मानव अधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरूबाट उल्लंघन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ ।

केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधि र सञ्चाकर्मीसँग छुट्टाछुट्टै गरेको छलफलमा उल्लिखित विषयलाई उठाइएको अनुगमनबाट पाइएको छ ।

प्रतिक्रिया