महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी

गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी गरिरहेको छ ।
संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो)मा आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन गर्ने बताए ।
महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर तथा अखडाहरूमा गुठी संस्थान, शाखा कार्यालय पशुपति र थापाथलीका विभिन्न अखडामा संस्थानको काठमाडौँ शाखाले प्रबन्ध मिलाउने उनले जानकारी दिनुभयो । “संस्थानको मुख्य काम परम्पराबमोजिम महाशिवरात्रि पर्वमा आउने साधुसन्तको सेवा गर्नु हो । जसमा साधुसन्तका लागि धुनी जगाउन आवश्यक पर्ने दाउरा र परम्पराबमोजिमको भोजन उपलब्ध गराउने तथा दक्षिणासहित बिदाइ गर्नुपर्ने हुन्छ, त्यसैको तयारी गरिरहेका छौँ”, प्रवक्ता पोखरेलले भने ।
कार्यक्रमअनुसार फागुन १ गते राष्ट्रप्रमुखका तर्फबाट साधुसन्तलाई अर्पण गरिने सामग्री सङ्कल्प गर्न राष्ट्रपति कार्यालय लगिनेछ । ती सामग्रीमा राडी, च्यादर, बख्खु, चमर, कमण्डलु, घण्टी, लोटा, पीताम्वरी, रुद्राक्ष माला, बासमती चामल, मासको दाल, अप घ्यू, बेसार, जिरा, नुन, आलु, पालुङ्गो साग, दही, फलफूल, माला, सिदामा राख्ने सिक्का पैसा गरी जम्मा २१ प्रकारका सामग्री हुनेछन् ।
फागुन २ गते मन्दिर परिसरमा उपस्थित साधुसन्तका लागि संस्थानले अन्नपूर्ण आश्रममार्फत भोजनको व्यवस्था गर्नेछ । साथै राजधानीमा साधुसन्त रहने अन्य अखडा, राममन्दिर, भष्मेश्वर अखडा, निर्मल अखडा, मृगस्थली गोरखनाथ अखडा, वनकाली अखडा तथा थापाथली क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडाहरुमा उपस्थित साधुसन्तलाई संस्थानले तोकेकोबमोजिम दाउरा तथा भोजनको व्यवस्था गरिनेछ ।
फागुन ३ गते पर्वको मुख्य दिन संस्थानले पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र बेलुका पशुपतिनाथ मन्दिर वरिपरि बत्ती बाल्ने जानकारी पनि कार्यक्रममा दिइयो । सोही दिन पशुपति मन्दिर परिसरमा उपस्थित साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्नको लागि दाउरा उपलब्ध गराइनेछ ।
शिवरात्रिको भोलिपल्ट फागुन ४ मा मन्दिर परिसर तथा अन्य अखडाहरूमा साधुसन्तलाई भोजन तथा धुनी ताप्नको लागि दाउराको व्यवस्था गरिने र फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराई तोकिएको दरअनुसार दक्षिणासहित बिदाइ गर्ने कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए ।
संस्थानले यस वर्ष पर्व सञ्चालनका लागि रु ३२ लाख र दाउरा खरिदका लागि रु आठ लाख व्यवस्था गरेको जानकारी दिइयो । गत वर्षको शिवरात्रिमा ५० हजार केजी दाउरा खर्च भएकाले सोही अनुपातमा यस वर्ष पनि व्यवस्था गरिएको प्रवक्ता पोखरेलले बताए ।
संस्थानका प्रशासक शैलेशराज कुँवरले गत वर्षको अनुभवका आधारमा यस वर्ष शिवरात्रिमा साधुसन्तहरुको व्यवस्थापन थप चुस्त बनाइने बताए ।
संस्थानले महाशिवरात्रि पर्व, इन्द्रजात्रा, बिस्केट जात्रा, रातो तथा सेतो मच्छिन्द्रनाथको जात्रा, हाँडीगाउँ चोक्टेनारायणको जात्रा, जनकपुरको रामसीताको विवाह महोत्सव, रामनवमी महोत्सव, गोरखाको मनकामना पर्वलगायत राजगुठीका विभिन्न पर्वपूजा, जात्राहरू साविक परम्पराबमोजिम सञ्चालन गर्दै आएको छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया