मंगलबार, फागुन १९, २०८२

आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण

मेरोन्यूज २०८२ फागुन १९ गते ८:२९

आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देख्न सकिने छ।  मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो। 

काठमाडौँमा साँझ ६ः ४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने छ। यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ। 

यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। 

यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो।

सूर्यग्रहण भने नेपालबाट अब २०८४ मा मात्रै देखिने खगोलविद्‍ले बताएका छन्। चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुँदा चन्द्र र सूर्य ग्रहण लाग्ने गर्छ। जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ। त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ। 

प्रतिक्रिया