शुक्रबार, चैत २०, २०८२

कोरोना महामारीमा मनकारीको सहयोग

मेरोन्यूज २०७८ जेठ ८ गते १३:०३
फाइल फोटो

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना भाइरस (कोभिड,१९) संक्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोना मुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन ।

Advertisement
nepal life insurencenepal life insurence

स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीले रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदल यात्री र गरीबका लागि महोत्तरीको बर्दिबासमा खाद्यान्न बैंक सञ्चालन गरी दैनिक खाजा र खाना वितरण गर्न थालेको प्रदेश नं २ प्रदेशसभा सदस्य शारदादेवी थापाले जानकारी दिइन् ।

बर्दिबासमा गरिरहेको यस महान् काम हेरेर कोभिड–१९ व्यवस्थापन समितिलाई राहत तथा कोरोना पीडितको उद्धारका लागि विभिन्न संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् । सहयोगका क्रममा रोटरी क्लब बर्दिबासले दुई लाख ५६ हजार ५ सय रुपैयाँ, महोत्तरी होटल तथा पर्यटन व्यवसायी संघ, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउन्डेशनले डेढ-डेढ लाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै बर्दिबास उद्योग वाणिज्य संघले खानाका लागि अभियान अवधिभर रासनको व्यवस्था गरेको संघका महासचिव भवनाथ खतिवडाले बताए । समितिका पदाधिकारीले विभिन्न व्यक्तिसित आर्थिक सहयोग मागेर, पदाधिकारीले आफूहरु पनि अनिवार्य पैसा दिने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेलसम्म खाना खुवाउने अभियान जारी राख्ने जनाएका छन् ।

मानवता देखाउने समय आएको छ, ‘हुनेले दिनूस्, नहुने लिनूस’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले खाद्यान्न बैंकमार्फत राहत विरतण गर्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । यसका अलावा सो समितिले कोरोना पीडितका लागि निःशुल्क एम्बुलेन्स तथा अक्सिजन सहयोग पनि गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया