बिहीबार, फागुन २८, २०८२

नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो

मेरोन्यूज २०८२ फागुन २८ गते १३:४४

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरिदिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अदालतको यो निर्णयसँगै नाडाको नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी अवरोध समाप्त भई मार्ग प्रशस्त भएको छ।

यसअघि निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा परेपछि नाडाले न्यायालयको सम्मान र विधिको शासनप्रति प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको थियो। बुधबार उच्च अदालत पाटनले उक्त रिट खारेज गर्ने फैसला सुनाएसँगै संस्थाभित्रको अन्योल अन्त्य भएको छ।

अदालतको निर्णयपछि नाडाले एक विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ। अब संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमै नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिनेछ।’

अदालतको यो निर्णयले संस्थामा थप स्पष्टता, स्थिरता र एकता ल्याउने विश्वास नाडाले व्यक्त गरेको छ। साथै, आगामी दिनमा सम्पूर्ण सदस्य र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास र उद्योगमैत्री वातावरण निर्माणका लागि सक्रिय रहने प्रतिबद्धता समेत नाडाले जनाएको छ।

प्रतिक्रिया