शनिबार, चैत २१, २०८२

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा त्रास बढ्दै

मेरोन्यूज २०७८ जेठ ९ गते ९:४८

कैलाली । दोस्रो लहरको कोभिड–१९ का संक्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ । कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताईन् ।

Advertisement
nepal life insurencenepal life insurence

“कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”,जोशीले भनिन “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ ।”

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जान समेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताईन् । “गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ । मन अझै अत्तालिन्छ”, उनले भनिन् ।

रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरु समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै केही व्यक्ति गाउँमा प्रवेश गरेपछि अझ डर, त्रास बढेको धनगढी–२ कै स्थानीयवासी हरि नेपालीले बताउँछन । घर फर्केकाहरु होम आइसोलेशनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उनको भनाइ छ । उनले भने “सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ ।”

गाउँमा सङ्क्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।रासस

प्रतिक्रिया