एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक

काठमाडाैं । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक तथ्यांकअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।
तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको करिब ३५ दशमलव चार प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन् ।
श्रीलंकाबाट १० हजार ७५९, बंगलादेशबाट चार हजार ६७६ तथा सार्क अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले जानकारी दिए ।
भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाएको उनको भनाइ छ । अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट छ हजार २० र थाइल्याण्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन् ।
जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, यो कुल आगमनको करिब २७ दशमलव सात प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ ।
पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।
सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएका बोर्डले जनाएको छ ।
मार्च–अप्रिललाई पर्यटकीय मौसम, ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटकको आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किंदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ का कारण उल्लेख्य वृद्धि हुन सकेको छैन ।
विशेषगरी यो याममा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि पर्यटकको आगमन कम देखिएको हुनसक्ने भन्दै तथ्यांक निराशाजनक भने नभएको बताए ।
















मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया