आइतबार, चैत २२, २०८२

मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे

मेरोन्यूज २०८२ चैत २१ गते २१:१६

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘चुनावको मूल्यांकन र नेपालको परराष्ट्र नीतिका बिचको सम्बन्ध’ विषय अन्तरत्रिलया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा सो कुरा उल्लेख छ ।

उक्त अवधारणापत्रमा जेनजीले भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध गरेको आन्दोलनलाई सिंहले सही र न्यायसंगत भएको भनेका छन् । ‘त्यो आन्दोलन एउटा स्वतस्फूर्त, असंगठित तथा कुनै नीति कार्यक्रम र नेतृत्वबिहीन आन्दोलन पनि थियो । यसले कैयाैं देशी वा विदेशी शक्तिहरूले आफ्नो स्वार्थको पक्षमा त्यसलाई उपयोग गर्न पनि प्रयत्न गरेका थिए,’ उनले लेखेका छन् । त्यो दौडमा सबैभन्दा अगाडि अमेरिकी आएको उनले टिप्पणी गरेका छन् ।

‘त्यो आन्दोलन प्रकट रूपमा जेनजीहरूको नै आन्दोलन थियो । तर व्यवहारमा त्यो आन्दोलनलाई २८ वर्ष भन्दा माथिका व्यक्तिहरूले हाईज्याक गरे र त्यस प्रकारका व्यक्तिहरूमा स्वतन्त्र तिब्बत पक्षधर वा अमेरिकाद्वारा परिचालित तत्त्वहरू नै थिए,’ सिंहले लेखेका छन् ।

उनले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताए। लोकप्रियतावादलाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने उनको भनाइ छ। 

‘जब जनतामा राजनीतिक विचारभन्दा भावना हावी हुन्छ, तब देशले गम्भीर क्षति बेहोर्नुपर्छ। अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको शिकार भएका छन्,’ सिंहले भने। 

सिंहले अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने सरकार स्थापना गरिएको जिकिर गरे। कुनै पनि देशको परराष्ट्र नीति सरकारको स्वरूपले निर्धारण गर्ने उनको भनाइ छ। 

जनमोर्चाका कार्यवहाक अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउद, परराष्ट्रविद् तथा नेकपा (एमाले) का सचिव डा. राजन भट्टराई, पूर्वराजदूत हिरण्यालाल श्रेष्ठ, अजय शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लीलामणि पोखरेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीताराम तामाङलगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन जनमोर्चाका महासचिव मनोज भट्टले गरेका थिए।

प्रतिक्रिया