आइतबार, वैशाख ६, २०८३

रातो मच्छिन्द्रनाथको रथारोहण भोलि

मेरोन्यूज २०८३ वैशाख ४ गते १९:१२

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

हाल पुल्चोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ । ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार (भोलि)सम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहण गरिनेछ ।

‘परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको संकेत मानिन्छ’, उनले भने ।

गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुल्चोकमा ल्याइनेछ । मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथका पूजारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ ।

मन्छिन्द्रनाथको मूर्तिलाई पूजा गरी रथमा चढाइन्छ । रथारोहण सम्पन्न भएपछि पात्रोको तिथिअनुसार ८ वैशाख बेलुका रथ तान्ने कार्यक्रम रहेको ञँवालका नाइके महर्जनले जानकारी दिए ।

उनका अनुसार सोही दिन रथलाई गा: बहाल पुर्‍याइनेछ । रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ । प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ ।

प्रतिक्रिया