पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की- देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकरसमेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे । खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौँ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौँ मिनेटमा उनको प्रहारलाई आरएसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् ।
लगत्तै दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसको दुई मिनेटपश्चात् रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन् । त्यसअघि २३औँ मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् ।
२८औँ मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो । २९औँ मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४०औँ मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो । खेलको सुरुआतबाटै आयोजकमाथि हाबी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम राख्यो ।
पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहारस्वरुप पायो । खेलको ५०औँ मिनेटमा साहाराले गोल गरिन् । ६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन् । उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन् । जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ ।
आयोजक आरएस र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजक आरएस पोखराले जनाएको छ।
















चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया