आइतबार, वैशाख २०, २०८३

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत

मेरोन्यूज २०८३ वैशाख २० गते १३:१९

काठमाडौं। नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत गरेको छ ।

Advertisement
NiccNicc

बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक सन्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य अनन्त पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

कर्मचारीको हितलाई उच्च महत्त्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।

“यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पुरा गरेका हौँ । यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महशुस गराउने छ,” सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताइन् ।

उद्धाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुआत भएको बताए । “लैंगिक समानता, कर्मचारीको हित नबिल बैंकका प्रमुख मान्यताभित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मूल्यमान्यताहरूलाई प्रतिबिम्बित गर्छ,” अध्यक्ष चौधरीले भने ।

“हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरूलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भए पनि आउने दिनमा अरू शाखाहरूमा पनि विस्तार गर्दै लगिने छ,” उनले थपे ।

यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया