बुधबार, वैशाख २३, २०८३

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

मेरोन्यूज २०८३ वैशाख २२ गते १५:३१

काठमाडौँ । राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् ।

Advertisement
NiccNicc

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठाउन लागिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताए ।

नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन् । उहाँहरूमध्ये अपाङ्गता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन् ।

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको छन् । चार जनाले यस वर्ष एसइई दिएका छन् । उनीहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सीप सिक्न चाहन्छन् । कामपाले उनीहरूले चाहेको सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिए ।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेको पनि उनले भने । कामपा शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरूमा ११ छात्रा र १९ छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्कयतासमेत माग गरिएको छ ।

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध समेत गरिसकेको छ । कामपाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरूप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउँछौँ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया