मंगलबार, वैशाख ८, २०८३

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

मेरोन्यूज २०७८ जेठ १८ गते ६:३४

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।

धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराएको उनको भनाइ छ ।

“धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिंदै आएका थिए”, सापकोटाले भने, “किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।”

बजारमा प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत ७२ रुपैयाँमा खरिद गरेर किसानहरुलाई ३६ रुपैयाँमा उपलब्ध गराएको सापकोटाले बताए ।

नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताए ।

नगरपालिकाले ३५ लाख रुपैयाँ लागतमा खरिद गरेको बिउ किसानलाई १७ लाख ५० हजार रुपैयाँमा वितरण गरिएको सापकोटाले जानकारी दिए ।

अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताए ।

अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ ।

प्रतिक्रिया