सोमबार, जेठ ५, २०८२

प्रदेश-२ सरकारबारे कांग्रेस सभापति देउवा र उपसभापति निधिबीच बाँझाबाँझ

निधि ओली र ठाकुर समूहसँग मिल्न लागेपछि ‘विपक्षी गठबन्धन’का अन्य दलको आपत्ति

मेरोन्यूज २०७८ जेठ २१ गते ११:०७

काठमाडौँ / उपसभापति विमलेन्द्र निधिले केन्द्रमा केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनविपरीत प्रदेश–२ मा गठबन्धन बनाउन लागेपछि नेपाली कांग्रेसमा विवाद भएको छ । उपसभापति निधिले केन्द्रमा बनेको गठबन्धनविपरीत प्रदेश–२ मा एमालेको प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूह, र जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर समूहलाई मिलाउने प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए ।


गत आइतबार निधिले यो प्रस्ताव राखेपछि देउवाले ओली समूहसँग मिल्ने कुरा हुँदैहुन्न भनेर फर्काइदिएका थिए । तर पनि निधि रोकिएका छैनन । उनले मंगलबार, बुधबार र बिहीबार पनि देउवा निवास बुढानीलकण्ठ पुगेर आफ्नो प्रस्ताव प्रदेशमा पार्टीका लागि फाइदाजनक भएको भन्दै देउवालाई फकाउने प्रयासमा जुटिरहेका छन् । तर, देउवाले भने केन्द्रमा भएको गठबन्धन विपरीतमा जान नसक्ने प्रष्टै जवाफ निधिलाई दिईसकेका छन् ।

बुढानीलकण्ठ स्रोतका अनुसार निधिलाई देउवाले २०७४ मा भएको स्थानीय तह, प्रदेश सभा र संघको निर्वाचनमा भनेको मान्दा धोका खाएकोले अहिले जे भन्यो त्यही गर्न नसक्ने जवाफ फर्काएका थिए । त्यसपछि निधिले आफू पनि पार्टीको उपसभापति भएकाले आफ्नो प्रदेशमा आफ्नो सुझाव नेतृत्वले मान्नुपर्ने भन्दै कड्किएका थिए । नमानिए विद्रोह गर्ने चेतावनीसमेत निधिले दिएको स्रोत बताउँछ ।

तर, देउवाले भने आफूले केन्द्रमा भएको सहमतिबेगर कदम चाल्न नसक्ने बताएपछि बिहीबार निधि देउवा निवासबाट रिसाएर निस्किएका थिए । निधि रिसाएपनि यो मामलामा तत्काल केन्द्रमा बनेको गठवन्धन छोडेर प्रदेशमा फरक नीति लिनै नसक्ने देउवाको अडान छ ।

देउवा र निधिका आ आफ्नै अडानका वीच काग्रेसमा यो विषयमा विवाद कायमै छ ।

न निधिले अडान छोडेका छन्, न देउवाले । कसरी नमान्दा रहेछन् , म पनि हेरौं न त भन्दै कड्किएर देउवा निवासबाट निधि निस्केपनि देउवाले केही समय मुख रातोपिरो बनाएपनि त्यसले केही अर्थ नराख्ने वताएको बुढानिलकन्ठ निकट स्रोतले बताएको छ ।

यता प्रदेश–२ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूहले कांग्रेसका केही नेताहरू आफ्नो स्वार्थ अनुकुल हुनेगरी केन्द्रीय गठबन्धन नै बिगार्ने शैलीमा प्रस्तुत भएको आरोप लगाएको छ । जसपा अध्यक्ष यादवले निधिको नाम नलिएरै कांग्रेसका केही नेताले केन्द्रमा जे भए पनि प्रदेशमा एमालेसँग नै मिलेर सरकार बनाउने कसरत गरेको भन्दै देउवासँग आपत्ति जनाएका छन् ।

यादवले देउवासँग यही गठबन्धनमा प्रदेश–२ चल्नु पर्ने, मुख्यमन्त्री फर्ने प्रयास केन्द्रको गठबन्धनविपरीत कांग्रेस नेताहरूबाट हुन लागेकोले त्यो कदम रोक्न आग्रह गरेका थिए । यसविषयमा राखिएको जिज्ञासामा यादवले प्रदेश–२ मा हुन लागेको सत्तासमीकरण फेरबदलको प्रयासबारे देउवालाई आफूले जानकारी गराएको र त्यसो हुन नदिन आग्रह गरेको बताए । थप आफू जनकपुर पुगेपछि मात्रै भन्ने उनको भनाइ थियो ।


कांग्रेसमा उपसभापति निधिका विश्वासपात्र प्रदेश–२ मा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले केन्द्रमा जस्तोसुकै समीकरण भएपनि प्रदेशमा प्रदेशको हितलाई हेरेर समीकरण निर्माण हुने बताए । ‘केन्द्रमा जे समीकरण हुन्छ प्रदेशमा त्यही समीकरण गर्नुपर्छ भन्ने छैन, यहाँ जे गर्दा पार्टीलाई हित हुन्छ हामी त्यही गरेर अगाडि बढ्छौ,’ दलका नेता यादवले मेरोन्युजसँग भने, ‘भारतमा केन्द्रमा एउटा गठबन्धन भएपनि प्रदेशमा अर्को गठबन्धन बन्ने अभ्यास छ । हामी त्यसका लागि ओपन छौं, बार्गेनिङमा आफ्नो पार्टीको हित हेरेर निर्णय गर्छौं ।’


आफ्नो पार्टीको मुख्यमन्त्री हुने भएमा जोसँग पनि सहकार्य हुन सक्ने उनले बताए । तर, सहमति नै भइनसकेको उनको भनाइ थियो ।
तर, केन्द्र र प्रदेशमा अर्कै गठबन्धन बनाउँदा त समस्या होला नि भन्ने प्रश्नमा यादवले भने, ‘केन्द्रमा उपसभापतिज्यूले मिलाउनुहुन्छ । यहाँ सहमति गर्ने वातावरण मैले मिलाइरहेको छु ।’

केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस, माओवादी, जसपाको यादव समूह, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । एमाले नेता नेतालले पनि देउवालाई प्रदेश–२ मा ओली समूहसम्ग मिल्ने खबर पाएको भन्दै त्यसो नगर्न सुझाएका बुढानीलकण्ठ स्रोत बताउँछ ।

केन्द्रमा जसपाको यादव समूह, माओवादी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा देउवाले संविधानको धारा ७६(५) अनुरुप बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । प्रदेश–२ मा तीन सांसद पदमुक्त भएपछि १०४ सांसद् छन् । त्यसमा जसपाका ५५ सांसद छन् । त्यसमा पनि ३० भन्दा बढी उपेन्द्र यादव समूहका छन् । त्यहाँ एमालेका २१ सांसद छन् । त्यसमा १३ भन्दा बढी सांसद् नेपाल नेपाल समूहका छन् । त्यहाँ कांग्रेसको १९ सीट छ । जसले गर्दा जसपाको यादव समूह, कांग्रेस र एमालेको नेपाल समूह मिलेको खण्डमा सहज समीकरण छ ।

अहिलेका मुख्यमन्त्री लालबाबु राउतको निरन्तरता यही समीकरणमा हुन्छ । तर, निधि भने राउतलाई परिवर्तन गर्ने खेललमा लागेका छन् ।
प्रदेश–२ मा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धनको सरकार बनेको थियो । १३ महिनाअघि दवैै पार्टी मिलेर जसपा बनेपछि जसपाको एकल सरकारको रूपमा परिणत भएको थियो ।

अहिले जसपा नै विभाजित हुन लाग्दा सरकार फेर्नका लागि राजनीतिक ध्रुवीकरण तीव्र भएको हो । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ६ वटा मन्त्रालय छन् । ६ वटै मन्त्रालयमा मन्त्री र राज्यमन्त्री गरेर १२ जना सांसद मन्त्री छन् ।

प्रतिक्रिया