सोमबार, वैशाख ८, २०८२

अपिहिमालमा विद्युत उत्पादन अन्तिम चरणमा

मेरोन्यूज २०७८ जेठ २४ गते ९:३१

दार्चुला । अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत उत्पादनको अन्तिम तयारी थालिएको हो ।

विद्युतको इन्टेक, विद्युतगृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिंदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

“अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ”, अध्यक्ष धामीले भने, “मजदुर पाइयो भने एक महिनाभित्र विद्युतको काम सकिने छ ।”

पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युतको ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत निर्माणअन्तर्गत विद्युतका पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ ।

अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् ।

“निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन” उनले भने ।

पालिकाभित्र मजदुर नपाए बाहिरबाट ल्याएर भएपनि समयमै काम सक्न उनले समितिलाई आग्रह गरे ।

विद्युत निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउ पुग्नेछ । यो विद्युत साविकको खण्डेश्वरी गाविसको ७०० घरधुरीमा पुर्‍याउने योजना छ । खण्डेश्वरीमा विद्युत खपत हुन नसके साविकको घुसा गाविससम्म विस्तार गर्न सकिने जनाइएको छ ।

सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युतको सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् ।

उनले भने, “हामीले विद्युतका ठूला मेसिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकप्टरमार्फत ढुवानी ग¥यौं । अहिले पनि गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।”

अहिलेसम्म विद्युत निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्दन केन्द्रले दुई करोड ८५ लाख, गाउँपालिकाले ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत ५० लाख र स्थानीय उपभोक्ताको ५७ लाख रुपैयाँ लागतमा विद्युत निर्माण भइरहेको छ ।

प्रतिक्रिया