मंगलबार, जेठ ६, २०८२

मुख्यमन्त्रीले लिए विश्वासकाे मत

सुदूरपश्चिम प्रदेशमा विश्वासको मतदान : ओली पक्षलाई नेपाल पक्षको दबाब

हरि भट्ट २०७८ जेठ २५ गते १७:२९

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा एमाले नेता भीम रावल पक्षले अर्का नेता लेखराज भट्टलाई पटकपटक झापड हान्दै आएका छन् । माओवादीको युद्ध कालदेखि नै माओवादीमा रहेका भट्ट केही समयअगाडि मात्र एमालेमा प्रवेश गरेका हुन् ।

नेता भट्ट एमाले ओली पक्षमा छन् भने रावल नेता माधव नेपाल पक्षमा छन् । राजनीतिमा चतुर मानिने रावलले भट्टलाई एकमाथि अर्को चुनौती दिँदै आएका छन् । रावल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि कडा चुनौती दिन सक्ने नेता हुन् ।

नेता रावल सधैं ओलीको खरो प्रतिवादमा उत्रिदै आएका छन् । उनले ओलीलाई सुदूरपश्चिमबाट थप चुनौती दिएका छन् । केन्द्रबाट ओलीले दिँदै आएको निर्देशन प्रदेशबाट रावलले अटेर गर्दै आएका छन् ।

एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थ फिर्ता नलिने र मन्त्रीलाई फिर्ता नगर्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीलाई चुनौती दिँदै नेपाल पक्षले सरकारमा मन्त्री थप गरेको छ । यससँगै एमालेमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गर्ने होडबाजी चलेको थियो ।

एमाले केन्द्रको राजनीति राम्रोसँग बुझेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले समयमा नै त्यसको फाइदा उठाएका छन् । उनले एमाले मिल्ने संकेत देखिकाले समयमा नै विश्वासको मत लिएर आफूलाई मुख्यमन्त्रीमा सुरक्षित बनाएका छन् । एमालेको दुई पक्ष मिलेको भए उनले मूख्यमन्त्रीको पद गुमााउने थिए ।

एमालेका १७ सांसदले उनलाई विश्वासको मत दिएसँगै उनी मुख्यमन्त्रीमा सुरक्षित भएका हुन् । तर, एमालेका ७ सांसदले विश्वासको विपक्षमा मत दिए । यस्तै जनता समाजवादी पार्टी (जसपा)का दुई सांसदले भट्टको विपक्षमा मत दिएका थिए भने नेपाली कांग्रेसका १२ सांसद तटस्थ बसेका थिए ।

एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न दिएको निर्देशनलाई चुनौती दिँदै पार्टीको प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । एमाले नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको अवस्थामा ओली पक्षले ७ सांसदले पार्टीको निर्देशन भन्दै विपक्षमा मतदान गरेका छन् । ओली पक्षका पठान सिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका हुन् ।

एमाले ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहराले पार्टीको निर्देशनअनुसार आफूहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको बताएका छन् । पार्टीको कार्यकर्ता भएको भन्दै उनले पार्टीको निर्देशनविपरीत संसदीय दलको निर्देशन नमानेको बताएका छन् । उनले भने, “हामी पार्टीको कार्यकर्ता हौँ, पार्टीको निर्देशन मान्नु हाम्रो कर्तव्य हो, पार्टीले जे भनेको छ, त्यही मानेका छौँ, हाम्रो लागि संसदीय दलभन्दा ठूलो पार्टी नै हो ।”

एमाले सुदूरपश्चिम संसदीय दलमा नेपाल पक्षको बहुमत छ । संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक नेपाल पक्षका हुन् । त्यसैले नेपाल पक्षले ओली पक्षलाई दबाबमा राख्दै आएका छ । पार्टीको निर्देशनविपरीत संसदीय दलले निर्देशन जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएको थियो ।

नेपाल पक्षले पार्टीको निर्देशन नमान्ने र ओली पक्षले संसदीय दलको निर्णय नमान्ने परम्परा चल्दै आएको छ । अब, यस्तो अवस्थामा कसले कसलाई कारबाही गर्छ भन्ने चासोको विषय भनेको छ । नेपाल पक्षकी सांसद तथा संसदीय दलकी सचेतक दुर्गा कुमारी कामीले यस्तो अवस्थामा कसैले कसैलाई कारबाही गर्ने अधिकार नभएको बताइन् ।

उनले यसबारेमा कानुन नभएको बताइन् । उनले अब के गर्ने विषयमा कुनै छलफल नभएको पनि बताइन् । तर, ओली पक्ष एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलले पार्टीको निर्देशनविपरीत मतदान गर्नेलाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने मेरोन्युजलाई बताएका छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिनेमा जसपाका दुई सांसद रहेका छन् । जसपा केन्द्रको जस्तै त्यहाँ पनि जसपाभित्र दुई धार रहेको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एक भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर एमाले ओली पक्षसँग मिलेको छ ।

जसपा सुदूरपश्चिम प्रदेशका सांसद कृष्ण बहादुर चौधरीका अनुसार मुख्यमन्त्री भट्टले जसपालाई विश्वासको मत मागेका थिएनन् । त्यसैले जसपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको उनले बताए । जसपा केन्द्रमा विवाद भए पनि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एक भएका छन् ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया