शुक्रबार, वैशाख ११, २०८३

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

मेरोन्यूज २०७८ जेठ ३० गते ६:४४

धनुषा । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Advertisement
NiccNicc

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले घोषणा गरे ।

मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नम्बर ३ भित्रै घटना भएको पालिका हो । प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ कै संघीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी जुली महतोले गाउँमै पुगेर पीडित परिवारसँग भेटघाट गर्दै व्यक्तिगत पाँच परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ सहयोग गरिन् ।

यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका थिए ।

मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया