शुक्रबार, जेठ ९, २०८२

खाेप लगाउन छुटेका पत्रकारलाई छिट्टै व्यवस्था हुन्छ- सञ्चारमन्त्री थापा

मेरोन्यूज २०७८ जेठ ३१ गते १९:२५

काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औंल्याउन आग्रह गरेकी छिन् ।

मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन् । नेपाल पत्रकार महासङ्घको प्रतिनिधमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पत्रकारको हकहित र मागका सम्बन्धमा सकारात्मक रहेको र महासङ्घसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नयाँ बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन बीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागू गर्ने बताइन् ।

सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरे ।

महासङ्घले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गरेको छ ।

त्यसैगरी पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको खाेप सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । देशभर झण्डै १ हजार पत्रकारमा कोरोना संक्रमण भएका छन् । हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया