शनिबार, जेठ १०, २०८२

धितोपत्र बोर्डको प्रतिवेदनप्रति इपान र सिविफिनको आपत्ति

मेरोन्यूज २०७८ असार ४ गते १२:४८

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनी र वित्त संस्थाको शेयर कारोबार जोखिम रहेको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । वास्तविक अवस्थाको ख्याल नै नगरीसार्वजनिक गरेको प्रतिवेदनप्रति दुबैसंस्थाले आपत्ति जनाएका हुन् ।

इपानले विज्ञप्ति जारी गरी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

यस्तै परिसंघले नियामक निकायले कारवाही गर्ने विषयलाई नजरअन्दाज गरी शेयरमा लगानी गर्नु जोखिम रहेको भनी सार्वजनिक गरेकामा ध्यानकर्षण भएको जनाएको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेका जनाएका छन् ।

यस्तै परिसंघका प्रवक्ता भोजबहादुर शाहले संस्थागत पहिचान र प्रतिष्ठामा आँच नपुग्ने र लगानीकर्तामा मनोवैज्ञानिक त्रास नहुने गरी बोर्डले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

दुबै संस्थाले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए ।

प्रतिक्रिया