शनिबार, वैशाख १२, २०८३

कोभिड–१९ रोकथाम र उपचारका लागि ६ अस्पताललाई वागमतीको साढे २ करोड

मेरोन्यूज २०७८ असार ६ गते ८:५९

हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ ।

Advertisement
NiccNicc

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ वटा अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई ३५ लाख, काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई एक करोड रुपैयाँ उपलब्ध गराइने छ ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ ।

मनसुनबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो ।

समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि विपद् व्यवस्थापन गर्न १० करोड रुपेयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया