महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।
“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ परिवार विस्थापित भएका छन् ।
“विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौं”, प्रनानि गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।
त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए ।
“गत जेठमा पनि बाढी आउँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो”, उनले भने, “त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”
उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए ।
“अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो”, उनले भने, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।”
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया