मंगलबार, वैशाख ९, २०८२

सशस्त्रका डिआइजी श्रेष्ठको पदावधि थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

मेरोन्यूज २०७८ असार ७ गते १७:२९

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठको एक वर्ष पदावधि थपको प्रस्ताव आजको मन्त्रिपरिषदको बैठकमा लगेको छ ।

मन्त्रिपरिषदको बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । हाल सशस्त्रको सुदूरपश्चिम प्रदेशको बाहिनी प्रमुख रहेका श्रेष्ठको चार वर्षे कार्यकाल यही असार ९ गते सकिनै लाग्दा पदावधि थपका लागि गृह मन्त्रालयलले मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो ।

उनको पदावधि मन्त्रिपरिषदले पास गरेमा एक वर्ष कार्यकाल थप हुनेछ । ‘पदावधि थपको फाइलमा गृह मन्त्रीले हस्ताक्षर गर्नुभएको छ, हस्ताक्षर गरेको फाइल गृहसचिवले लिएर जानु भएको छ,’ गृह मन्त्री निकट स्रोतले भन्यो, ‘मन्त्रिपरिषदले सायद आजै पास गर्छ होला, नगरे उहाँ पर्सीबाट पदमुक्त हुनु हुन्छ ।’

हालका सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल आगामी चैत्र २८ मा अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि करिब एक महिनाका लागि हालका एआइजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने छन् ।

केसीलगत्तै वरियताका आधारमा डिआइजी श्रेष्ठ एआइजी बन्ने छन् । यसअघि डिआइजीहरू खड्क राई र मन्दिप श्रेष्ठको समेत पदावधि एक वर्षका लागि थप गरिएको थियो । उनीहरू दुवै जनाको ५ वर्षे पदावधि आगामी माघमा सकिँदै छ । त्यति बेलासम्म एआइजी रिक्त नहुने भए पनि उनीहरू दुवै जनाले डिआइजीबाटै अवकाश पाउने छन् ।

डिआइजीमा उनीपछि रहेका राजु अर्याल र नारायणदत्त पौडेल पनि एआइजी बन्ने दौडमा छन् । श्रेष्ठ एआइजीमा बढुवा हुँदा एक नम्बरमा बढुवा भए उनको सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना बलियो छ । श्रेष्ठ यसअघि सशस्त्र प्रहरीको प्रवक्तासमेत बनेका थिए ।

प्रतिक्रिया