गलत विवरण पेश गरी सरकारी भत्ता नलिनु, यस्तो हुन्छ कारबाही

काठमाडौँ । गलत लाभग्राही बनेर सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिले जरिवान तिर्नु पर्ने व्यवस्था लागु भएको छ । सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै कीर्ते गरेर सामाजिक सुरक्षा भत्ता लिँदै आएका व्यक्तिले विगो बराबर जरिवाना तिर्नु पर्ने व्यवस्था लागु भएको हो ।
सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधनको दफा २१ बमोजिम गलत विवरण पेश गरी वा जानीजानी गलत सिफारिस पेश गरी रकम लिएमा त्यस्तो व्यक्तिले लिएको रकम असुल गरी निजलाई बिगो बराबर जरिवाना हुने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
सरकारले लक्षित वर्गलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको गलत फाइदा उठाउने नीति बढ्दै आएपछि यस्ता व्यवस्था लागु गरिएको राष्ट्रिय परिचय पत्रतथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले मेरोन्युजसँग बताए ।
‘कीर्ते गरेर सामाजिक सुरक्षा भत्ताको नक्कली पाइएमा ऐनको दफा २१ बमोजिम साच्चिकै लाभ ग्राही हुन योग्य व्यक्ति रहेछ भने फेरि दर्ता गर्न पाउँछ । यदि, त्यो व्यक्तिले कीर्ते गरेको थाहा पाइएमा भने त्यो व्यक्तिले दर्ता गर्न पाउँदैन ।
यस्ता गल्ति गर्नेहरुलाई फेला पारेको हकमा सामाजिक सुरक्षा भत्ता फिर्ता गराएका छौँ । कारबाही गरेर सामाजिक सुरक्षा फिर्ता गराउने र कानुनअनुसार कारबाही गर्नलाई सम्बन्धित निकायमा पत्र पठाउने काम भइराखेको छ ।
पहिलो ऐन र अध्यादेशपछिको संशोधनमा के फरक ?
पहिलो ऐन र अध्यादेशमार्फत संशोधन गरिएको ऐनमा के भिन्नता छ ? भन्ने प्रश्नलाई प्रष्ट्याउँदै महानिर्देशक बस्नेतले पहिला भएको व्यवस्था र अहिले भएको व्यवस्थामा विशेष गरी विधुवा एकल महिला र अपांगता भएका ‘ख’वर्गका व्यक्तिहरुको परिचय पत्र प्राप्त व्यक्तिहरु हकमा ऐनले केही फरक व्यवस्था लागु गरेको बताए ।
नयाँ नियम लागु भएदेखिको यता समयसम्मको बिचमा भत्ता वितरणमा केही समस्याहरु भएको थियो । तर, गत मंसिरमा अध्यादेशबाट फेरि सामाजिक सुरक्षा ऐन २०७५ को पहिलो संशोधनबाट साविकमा खाईपाई आएका विधुवा एकल महिलाहरु र ‘ख’वर्गको परिचय पत्र प्राप्त गरेका अपांगाता भएका व्यक्तिहरुलाई भत्ता निरन्तरता गरिएको छ । साविकमा भत्ता ज–जसले जसरी भत्ता प्राप्त गर्दै आएका थिए । त्यो साविक बमोजिम नै नियमित भएको छ ।’
सरकारले गरेको संशोधनअनुसार पतिसँग सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका महिलाले अब ४० वर्ष उमेर पूरा गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका व्यवस्था गरिएको छ ।
यसअघि ऐनको दफा ७ मा ६० वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिएबमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउने उल्लेख थियो । तर, अब ४० वर्ष पूरा नगरेसम्म भत्ता लिन नपाउने व्यवस्था गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
दफा ८ मा रहेको अपांगता भत्ता सम्बन्धी अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी प्रचलित संघीय कानूनबमोजिम पूर्ण अशक्त अपांगता वा अति अशक्त अपांगताको परिचय पत्र प्राप्त गरेका नागरिकले तोकिएबमोजिम सामाजिक सुरक्षा भत्ता पाउने संशोधन गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता भन्नाले समाजमा रहेका अशक्त, अशहाय, तथा अपांगता भएका व्यक्तिहरुलाई सरकारद्वारा प्रदान गरिने सहयोग स्वरुपको भत्ता हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सक्रिय लाभ ग्राहीको संख्या ३३ लाख ४३ हजार ६ सय ८३ रहेका छन् ।
सरकारले ज्यष्ठ नागरीक, बालबालिका, दलित बालबालिका, एकल महिला, ज्यष्ठ नागरिक एकल महिला, ज्यष्ठ नागरिक दलीत, अति अशक्त अपांग, लोपन्मुख जाति, लोपन्मुख बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
नयाँ संशोधनअनुसार दर्ता प्रक्रिया कस्तो छ ?
सरकारले संशोधन गरेको अध्यादेशमा ऐन बमोजिम भत्ता पाउन योग्य र इच्छुक नेपाली नागरिकले सामाजिक सुरक्षा भत्ताको लाभग्राही रुपमा सूचीकृत हुनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता २०७६ को नियमावली बमोजिमका कागजातसहितका निवेदन दिनु पर्दछ ।
जसअन्तर्गत २ प्रति पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिका साथै आमा वा आमा नभए संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र खोप लगाएको वा तौल जाँच गराएको प्रमाण आवश्यक पर्दछ ।
नियमावलीको नियम ६ बमोजिम वडा समितिले प्रारम्भिक छानविन गरी स्थानीय तहको कार्यालयमा पठाउनु पर्दछ । त्यस्तै स्थानीय तहले प्राप्त गरेको निवेदनमाथि आवश्यक जाँच बुझ गर्दा निवेदनको व्यहोरा उचित देखाएमा निवेदन स्वीकृत गनु पर्दछ । स्वीकृत निवेदनअनुसार लाभग्राहीको विवरण १५ दिनभित्र अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणाली गरी सोको जानकारी सम्बन्धित वडा कार्यालयलाई दिनु पर्ने व्यवस्था लागु गरिएको छ ।
वर्गले भत्ता प्राप्त गर्ने लाभग्राही कति छन् ?
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सक्रिय लाभ ग्राहीको संख्या ३३ लाख ४३ हजार ६ सय ८३ रहेको पाइन्छ ।
वर्गीकरण अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १२ लाख ८० हजार ४२० पुगेको छ । तोकिएका बालबालिकाको संख्या ६ लाख २७ हजार ७५६, दलीत बालबालिकाको संख्या ४ लाख १३ हजार २०९ छन् ।
त्यस्तै एकल महिला ३ लाख ५९ हजार ३९०, ज्येष्ठ नागरिक एकल महिला २ लाख ६९ हजार ७८६ छन् । ज्येष्ठ नागरिक भत्ता (दलीत) १ लाख ९१ हजार ५४, अति अशक्त अपांगता भत्ता १ लाख ७ हजार ७६७, पूर्ण अपांगता भत्ता ५६ हजार २९०, लोपोन्मुख जाति २२ हजार ८५६, ज्येष्ठ नागरिक क्षेत्र तोकिएका २० हजार ५३८ र लोपोन्मुख बालबालिका ७५४ गरी जम्मा सक्रिय लाभग्राहीको संख्या ३३ लाख ४३ हजार ६ सय ८३ रहेको विभागको तथ्यांकले देखाउछ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया