लोभ नगर्ने मान्छे नै संसारका खुसी !

काठमाडौँ । सधैँ हँसिलो चेहरामा देखिने राज कार्कीलाई भेट्नु भयो भने तपाई झुक्किनु हुन्छ । राज कुनै हास्य कलाकार हुन् वा व्यापारी ? अरुलाई हँसाइरहने उनी व्यवसायिक कलाकार हैनन् । तर, उपभोक्ताहरूलाई खुसी बेच्ने व्यापारी भने हुन् । कसरी उनी खुसी बेच्ने व्यापारी भए ?
कार्कीले शिक्षा क्षेत्रमा डेढ दशक बिताए । नयाँ बानेश्वरमा एक बोर्डिङ स्कुल सञ्चालन गरेपछि अरुलाई नै हस्तान्तरण गरे । केही महिना यत्तिकै बस्दा आफूलाई मानसिक अपांग भएको अनुभव गरे । मानसिक तनाव भयो । फेरि, स्कुल खोल्दा धेरै खर्च लाग्ने देखियो । त्यसपति उनको दिमागमा आयो दुई वटा व्यवसाय ।
पहिलो खाद्यान्न । दोस्रो सर्टिङ सुटिङ ।
स्कुल सञ्चालन गर्दा नै उनले धेरै स्कुलका साथीहरू चिनेका थिए । उनलाई लाग्यो, प्रिन्सिपललाई चामल होइन ‘सुट’ बेच्नु पर्छ । त्यसपछि उनलाई लाग्यो खाद्यान्न व्यवसायभन्दा टेलरिङ व्यवसाय ठिक ।
खाद्यान्नभन्दा टेलरिङ पेशालाई हेर्ने नजर राम्रो थिएन । टेलरिङ पेशा कम पैसा हुने, पीछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता अथवा भनौँ भ्रम थियो । उनलाई लाग्यो, यो सोच र मान्यता भत्काउन जरुरी छ । र, उनले सूरु गरे ।
श्रीराज कलेक्सन । जुन नरदेवीमा छ ।
टेलरिङ पेशामा उनले हात त हाले । तर, उनलाई कठिन भयो । कलम चलाइरहेका उनका हातले कैँची चलाउनु परेको थियो । उनले सहयोगी हात खोजे । बचन पाए । तर, साथ पाएनन् । निरन्तर आत्मबल र आत्मविश्वास कायम राखे । अहिले त सबैले उनको कामलाई तारिफ गर्छन् ।
यो व्यवसाय शुरु गर्दा उनीसँग ७५ हजार रुपैयाँ मात्र थियो । परिवार र नजिकका केही साथीहरुको सहयोगमा उनले ३८ लाख रुपैयाँ जम्मा गरे । त्यही बजेटमा उनले व्यवसाय थाले ।
अन्यत्रभन्दा सस्तो, छिटो र गुणस्तरका लुगा सिलाउने श्रीराज कलेक्सन अहिलेका टप टेलरिङमध्येमा पर्छ । भारतीय र इटालियन ब्राण्डका लुगा पाइने यहाँ एकपटक सेवा लिएका ग्राहक फर्केर आउँछन् । अरु व्यापारीभन्दा राजको फरक बानी के छ भने उनले आफ्नो पसलमा आउने हर कोहीलाई परिवारकै सदस्यका रुपमा लिन्छन् । उनले सामान मात्रै होइन खुसी पनि बेच्छन् ।
‘सुट् पनि पाइने, खुसी पनि पाइने ।’

यो त श्रीराज कलेक्सनको नारा नै हो । यसमा सञ्चालक कार्कीको आफ्नै धारणा छ, रेस्टुराँमा पनि खाना त पाइन्छ । तर, खुसी पाइँदैन । हरेक व्यवसायीले उपभोक्तालाई राम्रो डिजाइन्, राम्रो कपडा, राम्रो सिलाई दिने उद्देश्य राख्छ । तर, मैले सुरु गरेको व्यवसायले ती कुरालाई मध्येनजर मात्रै राख्दैन । करोडौँ रुपैयाँमा नमिल्ने खुसी पनि दिने उद्देश्य हुन्छ । म खुसी दिने प्रयत्न गर्छु । गरिरहेको हुन्छु ।
‘राजधानीका नामी टेलरिङमा गएका उपभोक्ताहरु यहाँको सेवा लिएपछि सन्तुष्ट भएका छन्,’ उनी भन्छन्, ‘एकै जनाले एकै पटक ३÷४ पटक सिलाएका छन् ।’
केही नजिकका साथीलाई यो व्यवसाय गरेभन्दा औँला ठड्याउँदै दलीतले गर्ने काममा हात हाल्नुभो भन्थे । त्यती बेला उनको मन चसक्क हुन्थ्यो । तर, उनलाई विश्वास थियो । कुनै दिन सफल हुन्छु, भन्ने । अहिले तिनै साथी उनको सफलता देखेर डाह र इष्र्या गर्ने छन् ।
कुनै पनि पेशा सानो, ठूलो हुँदैन । मानिसको सोचले पेशालाई परिभाषित गर्छ । प्रतिष्ठत भनिने पेशा पनि घरमा सुतेर गरिदैन ।
कोरोनाले रोकेर मात्र हो । काठमाडौँका विभिन्न स्थानमा राजले ब्राञ्च खोल्दैछन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिवसमेत हुन् ।
‘सोच्ने हो भने त सबै पेशा गर्ने व्यक्ति आफैमा खुसी छैनन्,’ राज भन्छन्, ‘खुशीमा भौतारिएकाले आफ्नो पेशामा दुःखी भएकाको भीड पनि समाजमा कमी छैन ।’
उनलाई लाग्छ, लगानीभन्दा ठूलो मानिसको साहस, विश्वास, लगनशिलता र मिहिनेत नै हो ।
उनीसँगैका साथी विदेशतिर पलायन भए । त्यसबेला त उनलाई लाग्थ्यो, मेरा लागि पनि कुनै देश गन्तव्य हुन सक्छ । तर, नेपालमा नै उनले संघर्ष गरे । अहिले परदेशिएका साथीलाई उनले आफ्नै देशमा केही गरौँ भनेर, स्वरोजगार सिर्जना गरौँ भन्दै उनले कन्भिन्स गर्छन् ।
उनका दाइ अमेरिकामा रेस्टुराँ व्यवसाय गर्दै आएका छन् । उनलाई दाइले उतै बोलाउँछन् । तर, उनलाई नेपाल नै ठिक लाग्छ । भन्छन्, ‘५५ डिग्रीको तातो घाममा ३०–४० हजार कमाउन दुबई, कतार, मलेसियामा बसेर पसिना बगाउने साथी सम्झिदा मन पोल्छ, नेपालीलाई जहाँ गए पनि उही हो ।’

‘साधारण सिलाई गर्ने व्यक्तिले नै देशमा ७०–८० हजार कमाउँछन्,’ उनी भन्छन्, ‘ती नेपालीले स्वदेशमै केही गर्न सक्छन् जस्तो लाग्छ ।’
युवालाई सन्देश
व्यवसाय गर्न चाहने व्यक्तिलाई राजले केही टिप्स दिए । ‘सबैभन्दा ठूलो कुरा रुची हो,’ उनी भन्छन्, ‘के मा रुची छ, त्यो पहिल्याउने, त्यसपछि समय, लगनशीलता, मिहिनेत र निरन्तरता सबैभन्दा महत्वपूर्ण हो ।’
जहिले पनि म सक्छु भन्ने भाबना मनमा राख्ने कुरामा उनले जोड दिए ।
राजका रहरहरू
उनलाई जहिले सुट् लगाउन मन पर्छ । सुटबाहेक अरु लुगा लगाउन खासै मन पर्दैन । निरन्तर उनी सुटमा सजिएर हिँड्न थालेको १४ वर्ष भयो । फेसनेबल भएर हिँड्न रुचाउने उनी आफ्ना लागि सुट् सिलाइरहन्छन् ।
पहिरनबाहेक खानपानमा सौखिन छन्, उनी । फरक–फरक रेस्टुराँ, नयाँ–नयाँ परिकारका स्वाद चाख्न उनलाई एकदम मनपर्छ । गीतमा टिकटक बनाउन उत्तिकै रमाउँछन्, उनी ।
३५ जिल्ला घुमेका उनलाई कर्णालीका जिल्लाहरूमा घुम्न मन पर्छ । उनलाई प्राकृतिक सौन्दर्यताभन्दा मानव जीवन बुझ्न मनपर्छ । मानिसहरूको जीवनशैली बुझ्न मन पर्छ ।
आफूले रोजेको पेशामा राज एकदमै सन्तुष्ट छन् । समाजले टेलरिङ पेशालाई हेर्ने नजर राम्रो छैन । त्यो नजरलाई उनी परिवर्तन गर्न चाहन्छन् । कुराकानीबाटै थाहा हुन्छ । उनी अरु मानिसभन्दा भिन्नै प्रकृतिका छन् ।
‘म आफूलाई रुवाएर अरुलाई खुसी बनाउन चाहने मानिस हो,’ उस्तै हँसिलो चेहरामा उनले सुनाए, ‘मेरा दुस्मन छैनन्, किनकी म सबैलाई हसाउँछु, सबैलाई खुसी बनाउँछु ।’
उनलाई लाग्छ, जो मानिसमा डाह, इष्र्या, लोभ हुँदैन । त्यो व्यक्ति नै संसारको खुसी व्यक्ति हुन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया