खानेपानी सुविधाले हटायो सामाजिक द्वन्द्व

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।
राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।
घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए ।
“यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौं । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएका थियौं,” उनले भने, “घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।”
रघुगङ्गाको ४९ लाख रुपैयाँ अनुदान सहयोग र स्थानीयवासीको १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।
खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ ।
आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताए ।
“धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौं पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो”, उनले भने, “अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौं । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।”
वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा ५० लाख विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया