बुधबार, माघ ७, २०८२

जीप दुर्घटना : तीनको मृत्यु, ११ घाइते

मेरोन्यूज २०७८ असार २० गते १७:१६

काठमाडौँ । सिगास गाउँपालिका ३ बाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिगास ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरूको घटनास्थमै मृत्यु भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा सिगास ३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीय वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् ।

जीपका चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनी ४४ वर्षीय हरिभान साउद फरार रहेका प्रहरीले जनाएको छ । १६ जना सवार जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाले खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया