गाडी खुल्यो बसपार्क खुलेन, मारमा परे यात्रु

काठमाडौँ । उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सकेनन्।
दुई महिनापछि असार १५ गतदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो । असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुर्नुभएकी रीता मगर सुनाउछन् ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला करीब एक महिनाअघि खुलामञ्चको उत्तरी कुनामा निर्माण गरिएको बसपार्क खाली गरिएको थियो । खुलामञ्चमा बसपार्क बनाएर सम्पदा मास्न खोजेको भन्दै सम्पदा बचाउ अभियानलगायतले विरोध गर्दै आएका थिए । खुलामञ्चको बसपार्क खाली गरिएपछि हाल तालाबन्दी गरी राखिएको छ । बसपार्क बन्द गरेको सूचना नपाएका यात्रु त्यहाँ पुगेर तालाबन्दी गरिएको बसपार्क हेरेर सवारी खोज्दै भौँतारिने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो । भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यसको भूइँ तलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ । वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आउन थालेको बताए । ।
छिटो बसपार्कको व्यवस्था मिलाउन महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई अनुरोध गरिएको उनले बताए । । महानगरको वातावरण विभागलाई पनि समस्या समाधानको पहल गर्न पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । बसपार्क नभएपछि हाल काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायात टुँडिखेल घुमेर पुरानै मार्गबाट गन्तव्यमा जाने गरेका छन् ।
पुरानो बसपार्कबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा समेत सवारी आवतजावत हुँदै आएको थियो । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बसपार्क नभएका कारण सवारी नपाइएका सम्बन्धमा गुनासो भए यात्रुले १०३ नम्बरमा फोन गरेर जानकारी गराउन सक्ने बताए ।
यसरी गुनासो गरेपछि कहाँको सवारी कहाँ पाइन्छ भनी यात्रुलाई सहजीकरण गरिने गरिएको उनले सुनाए। मङ्गलबारदेखि यातायातमा कायम जोर बिजोर प्रणाली हटाइए पनि अझै अपेक्षाकृत सवारीसाधन सडकमा ननिस्किएको महाशाखाले जनाएको छ । महाशाखाले गएको २४ घण्टामा सडक नियम पालना नगर्ने एक हजार ८१६ सवारीलाई कारवाही गरेको छ ।
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया