बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न परिवार

दमौली । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ ।
म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो ।
विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी सामूहिक खेती गरिएको वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
उनका अनुसार आठ लाख २५ हजारमा खेत बन्धकीमा खरिद गरी २५ जनाले त्यस खेतमा तीन वर्षदेखि खेती गरिरहेका छन् । “सामुदायिक वनमा आबद्ध विपन्न सदस्यलाई जीविकोपार्जनमा सहयोग पु¥याउन यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने ।
उनका अनुसार यस खेतमा वर्षमा तीनपटक खेती गरिन्छ । वनका उपभोक्ताले यहाँ गहुँ, चैते र असारे धान रोप्दै आएका छन् । “चैते धान थन्क्याएर अब असारे धान रोप्न शुरु भएको छ”, उनले भने, “यहाँ खेती गरेर एक जनाले वार्षिक करिब १० मुरी धान उत्पादन गर्ने गरेका छन् ।”
सामुदायिक वनको कार्ययोजनाअनुसार न्यून आय भएका उपभोक्तालाई सामूहिक खेतीका लागि छनोट गरिएको छ । दैनिक ज्याला गरेर गुजारा गर्ने उपभोक्ता यसका लागि छनोट हुन्छन् ।
“ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्नेलाई केही सहयोग होस् भन्नका लागि सामूहिक खेती गर्नका लागि खेत उपलब्ध गराएका छौँ”, उनले भने, “यहाँबाट उत्पादित धानले उनीहरुलाई चामल खरिद गर्नुपरेको छैन ।”
वन समूहमा आबद्ध विपन्न समुदायलाई सामूहिक खेतीमा सहभागी गराउन सार्वजनिक सूचना टाँस गरेर निवेदन आह्वान गरिन्छ । निवेदन पेश गरिसकेपछि वन समूहले न्यून आय भएका उपभोक्ता छनोट गर्छ ।
खेती गर्नका लागि उपभोक्ताले ५० रुपैयाँको निवेदन र धरौटीवापत एक हजार जम्मा गर्नुपर्ने प्रावधान बनाइएको छ । “छनोट भएर बीचैमा नछाडुन् भन्नका लागि धरौटी राखिएको हो, पछि उपभोक्तालाई नै त्यो रकम फिर्ता गर्छौँ”, खनालले भने ।
उक्त सामुदायिक वनमा २८५ उपभोक्ता आबद्ध छन् । तीमध्ये राममाया सुनार, टेकबहादुर कामी, उमा सुनार, कुसु सुनार, मनी परियार, भावना सुनार, मनु आले, गुनीमाया बाचेलगायतले यो वर्ष सामूहिक खेती गरेका छन् ।
“प्रत्येक एक÷एक वर्षमा खेती गर्नका लागि निवेदन माग्छौँ, एकपटक गरेकाले अर्कोपटक गर्दिनँ भन्न पनि पाउँछ, त्यस्तो भएको खण्डमा अर्को उपभोक्ताले मौका पाउँछ”, उनले भने, “नभए उही उपभोक्ता दोहोरिन पनि सक्छ ।”
स्थानीयवासी राममाया सुनारले आफ्नो खेतबारी नभएकाले सामूहिक खेती गर्न पाउँदा सहज भएको बताउनुभयो । “खेतीपाती गर्नलाई खेत छैन, वनले उपलब्ध गराइएको खेतमा खेती गरेर उत्पादन लिएका छौँ, जीविकोपाजर्नका लागि सहयोग पुगेको छ”, सुनारले भने ।
सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बन्धकीमा खेत खरिद गरी सामूहिक खेती गरिएको तनहुँमै पहिलो र नमूना कार्यक्रम भएको बताए ।
“सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम उपभोक्ताको आयआर्जनमा खर्च गर्नुपर्ने प्रावधान छ, सोहीबमोजिम यो सामुदायिक वनले नमूना कार्य गरेको छ”, रानाभाटले भने, “यसले वनका विपन्न समुदायको आयआर्जनमा सघाएको छ ।”
उनका अनुसार यहाँबाट उत्पादन हुने धानले सानो परिवारका लागि चामल किन्न पर्दैन । “ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उपभोक्तालाई यसले ठूलो राहत मिलेको छ”, रानाभाटले भने । वनमा आबद्ध उपभोक्तालाई समृद्धितर्फ उन्मुख गराउने यो नमूना कार्य भएको रानाभाटले बताए ।

















कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया